भद्रपुर । गाउँलेहरुको विवादका कारण एउटै मन्दीरमा दुइवटा दुर्गाको मूर्ति सहित अन्य देवताका गरि पन्ध्रवटा मूर्ति राखिएको पाइएको छ । झापाको साविक हल्दीबारी गाविस ३ हाल वडा नम्बर २ मा रहेको पाराखोपी बजारमा स्थापना भएको मन्दीरमा यस्तो फेला परेको हो । समूह– समूहबिच विवाद भई को भन्दा को कम भन्ने प्रबृत्तिले यस्तो नाटक देख्नु परेको स्थानीयले बताएका छन् । दुइ तला निर्माण भएको मन्दीरमा एउटा समूहले भूइतलामा र अर्कोले माथिल्लो तलामा राखेको पाइएको छ । माथिल्लो तलामा मार्वल जडित दुर्गा, गणेश,शिव लगायतका मूर्ति पहिलो भवन निर्माण समितिले राखेर केही महिना यतादेखि नित्य पुजा गर्दै आएको छ भने दोस्रो समितिले अष्ट धातुबाट निर्मित त्यस्तै प्रकारका मूर्ति भूइँतलामा राखेको छ । तर स्थापना गर्न भने बाँकी रहेको छ । चारवर्ष अघि बजारमा मन्दीर नभएकोले स्थानीयको भेलामा मन्दीर बनाउने भए म एक लाख रुपैया दिन्छु भनेर स्थानीय टिका भण्डारीले बोल कबुल गरेपछि मन्दीरको खाका अघि सरेको थियो । भेलाले पर्शुराम बजगाइको अध्यक्षतामा तीनवर्ष अघि सातजना सदस्य रहने गरि मन्दीर निर्माण समिति गठन गरेको थियो ।

मन्दीरका लागि कृष्ण भण्डारीले चार र तेज प्रसाद डाँगीले ३ गरि सात धुर जग्गा निःशुल्क दिएका थिए । समितिले जनसहभागिता ९ लाख ५३ हजार ४ सय ९४ रुपैया र इँटा,बालुवा,सिमेन्ट,रड लगायत गरि २ लाख ३७ हजार ४ सय सङ्कलन गरेको थियो । मन्दीर निर्माणको लागि संस्कृति तथा पर्यटन मन्त्रालयबाट २ लाख गरि पहिलो समितिले खर्च गरेको समितिका अध्यक्ष बजगाइले बताए । मन्दीरको संरचना निर्माणको लागि १९ लाख ७३ हजार लागत अनुमान रहेको उनको भनाइ छ । पहिलो समितिले अनुमानित पन्ध्रलाख रकम खर्च गरिसकेको उनले जनाए ।

मन्दीर सञ्चालनको लागि जग्गा दाता डाँगीको अध्यक्षतामा पूजा समिति समेत निर्माण भइ सञ्चालन र मन्दीर पनि निर्माण भइरहेको उनले जनाए । यसरी चलिरहेको अवस्थामा गत वर्ष एकसमूहले दुर्गाको आठ वटा हात भएकोले अशुभ हुने भएको भन्दै दशवटा हात भएको मुर्ति ल्याउनु पर्ने आवाज उठाउन थालेपछि विवाद शुरु भएको उनको भनाइ छ । हामीले मूर्ति ल्याएर धार्मिक विधि विधान अनुसार स्थापना गरेकोले अब त्यसो नगरौ भन्दा विवादले उग्ररुप लिएको उनले जनाए । विवादकै क्रममा गएको असोजमा गाउँभेलानै नगरि हिरमन राजवंशीको अध्यक्षतामा पूजा समिति गठन भएको टिका भण्डारीले बताए ।

पूजा समितिलाई गाउँपालिकाले समेत गएको दशैमा ३० हजार रकम पूजा वापत दिएको जनाइको छ । पहिलो निर्माण समितिले हिषाब फरफारक नगरेको भन्दै छत्रसिं राजवंशीको अध्यक्षतामा ०७५ जेठमा मन्दीर निर्माण समिति गठन भएको थियो । समितिलाई गाउँपालिकाले मूर्ति र मन्दीर निर्माणको लागि २ लाख ९१ हजार निकासा गरेको समितिका अध्यक्ष छत्रसिंले बताए । गाउँपालिकाको रकमबाट दुर्गा ,गणेश,सरस्वती लगायत गरि १ लाख ५१ हजारमा पाँचवटा मूर्ति खरिद गरिएको र बाँकी रकम भवन निर्माणमा खर्च गरेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले दिएको रकमको हिषाब फर्छौट भइसकेको समेत उनले जनाए । पहिलेको समितिले बजारको टहरा र मन्दीरको हिषाब फर्छौट नगरेका कारण पुनः सोही समितिलाई गाउँपालिकाले जिम्वेवारी नदिएको छत्रले वताए । सवैकाम आफुले गर्न पाएमा राम्रो नभए नराम्रो हुने भएकोले उहाँहरु विकास विरोधी भएको छत्रले आरोप लगाए । उहाँहरुले ल्याएको मूर्तिको हात भाचिँएकोले अर्को मुर्ति खरिद गरिएको र आउँदो दशैको समयमा पुरानो मुर्तिलाइ विर्सजन गरि नयाँ मुर्तिको स्थापना गर्ने सम्बन्धमा सवैसँग छलफल भइरहेको उनले जनाए । पुरानो समितिले स्टीमेट भन्दा विना निर्णय अनुमानित ७० हजार रकम खर्च गरेकोले सो रकम नयाँ निकासाबाट काटिनु पर्ने माग आएकोले विवाद भएको वडा नम्बर २ का अध्यक्ष राजेन्द्र योङ्हाङ्ले बताए । अर्कोतर्फ मूर्तिको आठ र दशवटा हातामा विवाद भएको उनको भनाइ छ । गाउँलेले अर्को मन्दीरको माग राखेर आएमा खरिद गरिएका मूर्तिलाइ व्यवस्थापन गरिने उनको भनाइ छ ।