-
Home
-
पूर्व
-
आमा समूहद्वारा ६ सामुदायिक विद्यालयमा पङ्खा बितरण
आमा समूहद्वारा ६ सामुदायिक विद्यालयमा पङ्खा बितरण
बिर्तामोड(ब्लाष्ट) किशोरीलाई प्रजनन् स्वास्थ्य तथा महिनावारीका समयमा आइपर्ने समस्याबाट सुरक्षित रहन ज्ञान दिने अभियानमा रहेको नेपाली आमा समूह अर्जुनधाराले शुक्रबार नगरभित्रका ६ सामुदायिक विद्यालयलाई १६ वटा सिलिङ पङ्खा उपलब्ध गराएको छ ।
रचनात्मक काम गर्ने योजना अनुरुप समूहले पहिलो वार्षिकोत्सव पङ्खा वितरण गरेर मनाएको हो । समूहले अरुणोदय आधारभुत विद्यालयलाई ७, अर्जुनधारा माविलाई २, सिंहदेवी मावि सिस्नेलाई २, जनता मावि खुदुनाबारीलाई २, भिमले आधारभूत विद्यालयलाई २ र श्रीप्राविलाई १ गरी १६ वटा पङ्खा हस्तान्तरण गरेको हो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सेवा र शिक्षा करको नभइ रहरको हुनु पर्ने बताए । उनले आमा समूहले प्रत्येक विद्यालयमा पुगेर नगरक्षेत्रमा चेतनाको विगुल फुकेको बताए । नगर नेतृत्व र सम्बन्धित विद्यालयलाई झक्झकाएको उनले जनाए । उनले आमा समूहले जनस्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानप्रति नगरपालिका ऋणी रहेको बताए । नगर उपप्रमुख कमला आचार्यले हरेक विद्यालयलाई महिलामैत्री विद्यालय बनाउन आवश्यक रहेको बताइन् । उनले छात्रा र शिक्षिकाको पीडा बुझाउन आमा समूह सफल भएको उल्लेख गरिन् । उपप्रमुख आचार्यले विद्यालयमा पुगेर सेनेटरी प्याड र औषधी उपलब्ध गराएर छात्रालाई पढ्ने वातावरण बनाएकोमा प्रसन्नता व्यक्त गरिन् ।
समूहकी अध्यक्ष राजकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा–७ का वडाध्यक्ष नवीन ढुङगाना, शिक्षकहरु तारा विश्वकर्मा, मानबहादुर लिम्बु, सुरेश आचार्य लगायतले बोलेका थिए । कार्यक्रममा आमा समुहले एक वर्ष भित्र गरेका कामको विवरण सार्वजनिक गरेको छ । संस्थाले एक वर्ष भित्र नगरका १३ वटा विद्यालयमा चेतनामुलक कार्यसहित सेनेटरी प्याड र औषधी वितरण गरेको छ । शुक्रबार पनि विभिन्न विद्यालयका शिक्षकलाई पङ्खासँगै सेनेटरी प्याड हस्तान्तरण गरियो । समूहले विभिन्न आफ्ना तर्फबाट २ सहित १४ जना दाताको सहयोगमा पङ्खा उपलब्ध गराएको संस्थाकी सदस्य कल्पना कडरियाले बताइन् ।