मधुमल्ला (ब्लाष्ट) । मोरङको उर्लाबारी पछिल्लो समय अशान्त बन्दै गएको छ । शुक्रबार विहान मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि उर्लाबारीका एक जनप्रतिनिधिले छुरा प्रहार गरेका छन् । विश्वकप फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि छुरा प्रहारको घटना भएको हो । उर्लाबारी नगरपालिका– ६ का वडा सदस्य एवं तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यले तामाङमाथि छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताएका छन् । अर्जेन्टिना र क्रोएसियाबीचको प्रतिष्पर्धा हेरिसकेर घरतर्फ जाने तयारी गर्दै गर्दा दुई जनाबीच विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । त्यही विवाद छुरा प्रहारको घटनामा परिणत भएको प्रहरीको भनाई छ । उक्त विवादलाई लिएर उर्लाबारी ५ स्थित एरोमा होटेलबाट घरतर्फ जानै लागेका तामाङमाथि शाक्यले बिहान ३ बजेतिर छुरा प्रहार गरेको तिमल्सिनाले बताए । छुरा प्रहारबाट पेटमा चोट लागेपछि घाइते भएका तामाङलाई उपचारका लागि विर्तामोड स्थित वी एण्ड सी हस्पिटलमा लगिएको छ । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था खतरामुक्त रहेको जानकारी दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न शाक्य फरार रहेकाले खोजी तिव्र पारिएको छ । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् । मोरङ–११ मा आवद्ध भएर फुटबल खेलिरहेका तामाङ यस अघि ‘ए’ डिभिजन क्लबबाट पनि खेलिसकेका खेलाडी हुन् । यसैबीच बुधबार उर्लाबारी–५ का लोकनाथ पौडेलमाथी दुब्यर्वहार भएको थियो । स्थानीय गोविन्द कार्कीले मादक पदार्थ सेवन गरी पौडेलमाथी दुब्यर्वहार गरेको थिए । दुब्यर्वहार गर्ने कार्कीलाई कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएपनि कुनै सुनुवाई नगरेको पीडित पौडेलको भनाई छ । पछिल्लो समयमा उर्लाबारी क्षेत्रमा अराजक गतिबिधि बढेपछि उर्लाबारीबासी चिन्तित भएका छन् ।