पानवारी (ब्लाष्ट) । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ३९ औं स्थापना दिवसको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा ५९ पिन्ट रगत संकलन भएको संगठनका धरान अध्यक्ष कमल भट्टराईले जानकारी दिएका छन् । भट्टराईका अनुसार सवारी दुर्घटनामा हुँदा प्रायजसो यातायात मजदुरहरुनै घाइते हुने र धेरै रगतको आवश्यकता समेत आफैलाई हुने भएकोले रक्तदान कार्यक्रम आयोजना गरीएको हो । संगठनको स्थापना दिवसको अवसरमा सवारी चालक स्व. कालु तामाङकी छोरी रिजा तामाङलाई युरेका माविले निःशुल्क कक्षा ११ र १२ मा अध्यापन गराएको भदै माविका प्रिन्सिपल राजेन्द्र गुरुङलाई नेपाल स्वतन्त्र यातायात मजदुर संगठन धरान उपमहानगर कमिटिले सम्मान समेत गरेको थियो ।
कार्यक्रमको प्रमुख अतिथि नेकपाका धरान अध्यक्ष नारायण सुवेदीले यातायात मजदुरहरुले रक्तदान गरेर समाज सेवाको काममा अग्रसरता देखाएकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा संगठनका पूर्व अध्यक्ष मोतिराज सुनुवार, प्रदेश सचिव लक्ष्मी बानिया, सदस्य चिना चौहान, जिफन्ट अध्यक्ष शम्सेर वर्देवा लगायतको उपस्थिति रहेको थियो ।