शनिश्चरे, मोरङ (ब्लाष्ट) । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷ ७६ का लागि १ अर्व २२ करोड रुपैयाँ बढिको बजेट शनिबार नगरसभामा पेश गरेको छ । यो वजेट चालु आर्थिक वर्षको भन्दा ७ करोडले कम हो ।
नगरप्रमुख रोमनाथ ओलीले दमकको तेश्रो नगरसभामा १ अर्व २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरेका छन् । १५ करोडको आन्तरिक आम्दामीको अनुमान गरिएको छ । चालु आर्थिक वर्षका लागि १ अर्व २९ करोडको अनुमानित वजेट पेश भएको थियो । प्रदेश सरकारबाट रकम आउने भन्ने सोचेर वढीको वनाएको तर प्रदेश सरकारबाट रकम आइसक्ने समय नभएकाले प्रदेशको अनुमान गलत सावित भएको थियो ।
राष्ट्रिय योजना आयोग, संघीय अर्थ मन्त्रालय र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, बजेट सिलिङ् र नगरको आन्तरिक आय स्रोतका आधारमा बजेटको सिमा निर्धारण गरिएको प्रमुख ओलीले जनाए ।
नगरसभामा विनियोजन ऐन प्रस्तुत गर्दै उपप्रमुख गीता अधिकारीले कर भुक्तानीलाई प्रोत्साहित गरिने, दर भन्दा यसको दायरा बढाईने, समयमा कर बुझाउनेलाई पुरस्कृत र नबुझाउनेलाई दण्डको व्यवस्था गरिने नीति ल्याइएको जनाइन् ।
नगरसभामा विनियोजन ऐनका साथै कर सम्बन्धि विधेयक र सञ्चित कोष विधेयक नगरसभामा पेश भएको छ । त्यस उपर छलफल चलेको छ । नगरसभामा सहभागी सभाषदहरुले बजेटमा कतिपय आवश्यक कार्यक्रम छुटेको भन्दै ती कार्यक्रमहरु समावेश गर्न सभाको ध्यानाकर्षण गराएका थिए । नगरपालिकाको बजेटमा बिपन्नता पहिचान कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ । जसका लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए ।
१० वटा वडा रहेको नगरको समग्र विकासका लागि सवै वडाहरुमा जनसंख्यालाई ५०, क्षेत्रलाई ३५ र गरिवीलाई १५ प्रतिशत अंकभारका आधारमा बजेटको सिलिङ तय गरिएको छ । जस अनुसार वडामा घटीमा ८३ लाख ५३ हजार र वढीमा १ करोड ९१ लाखको वजेट सिलिङ वनेको छ ।
उता, मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि आइतवार नीति, कार्यक्रम तथा वजेट प्रस्तुत हुने भएको छ । शनिवार नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले नगरसभाका लागि विभिन्न नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिको तयारीका सम्वन्धमा छलफल गरेको छ । विहानैदेखि साँझसम्म लगातार वसेको वैठकले नगरस्तरका योजनाहरुको छनौट गरी समग्र नीति, कार्यक्रम र वजेटको प्रारम्भिक खाकामा टुंगो लगाएको प्रवक्ता यामप्रसाद गुरागाईंले वताए । नीति, कार्यक्रम तथा वजेट नगरसभामा छलफल भएर पारित हुने प्रावधान छ ।
१० वटा वडा रहेको नगरमा प्रत्येक वडाका लागि ८५ लाख रुपैयाँ बराबरको बजेट तय भई वडा वडामा छलफल भएको छ । भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वातावरण र सुशासनका विषयगत पक्षलाई हेरेर वजेट विनियोजन गर्ने तयारी भइरहेको छ । सशर्त शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान आएको छ । त्यसका साथै स्रोत वाँडफाँड अन्तर्गत ९ करोड २१ लाख २० हजार आउने छ । उता, सशर्तका रुपमा १२ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । निशर्तबाट २५ करोड २ लाख १७ हजार रुपैयाँमा आन्तरिक स्रोतको अनुमानित बजेट थपिएर चालु खर्च र पूँजीगत खर्चको बाँडफाँड हुन्छ ।