विराटनगर । पछिल्लो समय सवारी दुर्घटन बढेको भन्दै प्रदेश प्रहरीले १ नम्बर प्रदेशको ६ वटा जिल्लामा दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान संचालन गरेको छ ।
प्रदेश १ को इलाम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीको जिल्लामा पहिलो चरणको अभियान सुरु गरिएको १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए ।
‘दुर्घटना न्यूनीकरण गर्न पहिलो चरणमा ६ जिल्ला अभियान सुरु गरेका छौ,’ प्रहरी प्रमुख रिजालले भने, ‘१ महिना पछाडी प्रदेशको १४ वटै जिल्लामा यो अभियान सुरु गर्नेछौं ।’ अभियान सुरु गरिएको जिल्लाहरुमा सडक सुशासन कायम गर्न, सहरलाई व्यवस्थित र आकर्षक बनाउनका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए । अभियानलाई प्रभावकारी बनाउन पहिलो पटक पूर्वमा ‘राडार गन’ को प्रयोग गरेर सडकका गुड्ने सवारी साधनको गति मापन गर्न थालिएको छ । यो प्रदेशमै पहिलो पटक ‘राडार गन’ भित्रिएको हो । प्रदेश नम्बर १ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीले केही दिन अगाडी सवारीको गति मापन गर्ने ‘राडार गन’ दिएको थियो । दुर्घटना रोक्न प्रदेश सरकारले प्रहरीलाई ‘राडार गन’ दिएको हो ।
यसमार्फत सडकमा कुदिरहेका सवारी साधनको गति मापन गरिने डीआईजी रिजालले बताए । उनका अनुसार तीव्र गतिमा कुदाइने सवारी साधनका कारण दुर्घटना हुने गरेको पाइएपछि त्यसरी सवारी साधन संचालनमा कडाई गर्न ‘राडार गन’ को प्रयोग गरिएको हो । यसले सवारी साधनको गति पत्ता लगाउने र तीव्र गतिमा गुडाइएका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्न सहयोग गर्ने उनको भनाइ छ ।अभियान सुरु भएका स्थानमा सडक अतिक्रमण हटाउने, सवारी साधनको पार्किङ व्यस्थित गर्ने, फुटपाथ हटाउने, छाडा चौपाय नियन्त्रण गर्ने, ट्राफिक संकेत राख्ने, सडकमा पैदल यात्रुलाई बाटो काट्न सजिलो बनाउन जेव्रा क्रसिङहरु निर्माण गर्ने, सवारी साधन रोक्ने स्टेनलाई व्यवस्थित गर्ने काम भइरहेको रिजालले जानकारी दिए ।
विशेष गरेर बढी मात्रमा दुर्घटना हुने पूर्व पश्चिम, कोसी र मेची राजमार्गमा अभियान केन्द्रीत छ । स्थानीय तह, स्थानीय प्रशासन, नागरिक समाज र सरोकारवालाहरुसंग समन्वय गरेर अभियान सफल पार्नका लागि प्रहरी निरीक्षकको नेत्रृत्वमा ठाउँठाउँमा टोली परिचालिन गरिएको बताइएको छ ।
सडक सुशासन कायम गराउनका लागि राजमार्गको १० किलोमिटर क्षेत्रमा परीक्षणका रुपमा काम भइरहेको छ । त्यसपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत प्रदेश १ मा पर्ने सुनसरीको भण्टाबारीदेखि काँकडभित्ता सम्मको राजमार्गलाई लक्षित गरेर कार्यक्रम संचालन गरिने रिजालले बताए ।
मादक पदार्थ सेवन गरेर सवारी साधन संचालन गरे नगरेको बारेमा पत्ता लगाउने ‘ब्रेथलाइजर’ पनि ट्राफिक प्रहरीका सबै जसो युनिटलाई प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको छ ।
प्रदेश १ मा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ हजार ६ सय वटा सवारी दुर्घटना भएका छन् । जसमा चार सय ६५ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए ।