पानवारी । वर्षायाम सुरु भएसँगै धार्मिक पर्यटन घट्दा मन्दिर आसापासको व्यापार घटेको छ ।

मन्दिर अगाडी फुलमाला राखेर विक्रि गर्नेहरुले दैनिक ४/५ हजारको व्यापार गर्दै आएकोमा आजभोली मुस्किलले एक हजार रुपैयाको व्यापार हुने गरेको व्यापारीले बताएका छन् । धरानको पिण्डेश्वर मन्दिर अगाडी फुलमालाको व्यापार गर्ने व्यपारी कलामाया तामाङले भनिन् –‘व्यापार त धेरै घटेको छ, अब भइहाले पनि मुस्किलले पाँचसयदेखि हजारसम्म हुन्छ ।’

पिण्डेश्वर मात्र नभएर दन्तकाली, बुढासुब्बामा समेत भक्तजन घटेका छन् । सधैजसो भिडदेखिने बुढासुब्बा मन्दिर अहिले सुनसान झै बनेको छ । व्यापारीहरु समेत आफ्नो पसल केही दिनलाई बन्द गरेर गएकाले मन्दिर अगाडी ५–७ वटा पसल मात्र खुलेका छन् । ‘साउन महिनामा मात्रै पिण्डेश्वर आसापासका फुलमाला पसल लगायत साना पसलले करोड भन्दा बढीको व्यापार गर्ने’ उल्लेख गरेर प्रा.डा. राजेन्द्र शर्माले भर्खरै एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बुढासुब्बा मन्दिरको अगाडी माला,पोते तथा फुल प्रसादको पसल थापेर बसेकी धनु श्रेष्ठ पनि पसलमा बस्न बानी परेकोले मात्रै पसल खोल्न आएको बताइन् । उनले भनिन् –‘मान्छे आए पो व्यापार हुन्छ अहिले मान्छे नै आउँदैनन्, पहिलादेखि नै यही काम गरेर बसेँ घरमा त्यसै बस्न सक्दिन त्यसैले पसल थाप्न आएकी हु ।’ टाढाबाट आउने भक्तजनले मात्रै मन्दिरमा चढाउन फुलमाला किनेर लैजाने र कोशेलीको रुपमा अरु सामान पनि लाने भएकोले टाढाबाट आउने मान्छे नआएकोले व्यापार नभएको बताउँछीन् व्यवसायी मैना गिरी ।

 

वर्षायाम सुरु भएसँगै किसानहरु खेतीपातीमा व्यस्त हुने, व्यापारीहरु क्लोजिङमा व्यस्त हुने र विद्यार्थीको पनि पढाईको सुरुवात हुने भएकोले भक्तजनहरु वर्षाको समयमा सधै घट्ने गरेको बताउँछन् पर्यटन व्यवसायी बासुदेव बराल । उनका अनुसार वर्षाको समयमा बाढी पहिरोको जोखिम हुने र कहाँ कतिबेला बाटो बन्द हुन्छ भन्ने निश्चित समेत हुदैन त्यही भएर भक्तजनहरु ह्वात्तै घटेका हुन् ।