पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेस्थित दलित सेवा संघ नगर समितिले ज्येष्ठ दलित नागरिकहरुलाई सहयोग गरेको छ ।

पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोगमा नौमति बाजा सार्वजनिक सामाजिक परीक्षण कार्यक्रम समेतको अवसरमा बुधवार नगरका दलित ज्येष्ठहरुलाई सहयोग प्रदान गरिएको हो ।

प्रत्येक वडाका ३, ३ जना गरी ३० जना ज्येष्ठहरुका लागि एउटा स्टेण्ड पंखा र ५ सय रुपैयाँ नगद सहयोग प्रदान गरिएको संघका नगर अध्यक्ष भक्तबहादुर दर्जीले जनाए ।

कार्यक्रममा, नगरप्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यसमिति सदस्य भद्रमान विश्वकर्मा लगायतले सहयोग वितरण गर्दै दलित उत्थानका लागि नगरपालिका कार्यालय प्रतिवद्ध रहेको जनाए ।

नगरपालिकाबाट नौमती बाजा खरिदका लागि १ लाख ५० हजार र ज्येष्ठ दलितलाई सहयोगका लागि २ लाख ५० हजार रुपैयाँ संघलाई प्रदान भएको थियो ।