बिर्तामोड । गतवर्ष डुबान र कटानले ११ जनाको ज्यान लिएको झापा गाउँपालिकामा यसवर्ष वर्षा शुरु हुँदै पूर्व तयारीलाई तीब्रता दिइएको छ ।
गाउँपालिकाको स्रोतले ठूला नदी नियन्त्रण गर्न नसक्ने भएपनि बाढीबाट उद्दारका लागि तयारीलाई तिब्रता दिइएको जनाइएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये गतबर्ष बाढीबाट सबैभन्दा बढी क्षति झापा गााउपालिकामा भएको थियो ।
डुवान र कटानले सबैभन्दा बढी क्षति पुर्याएको झापा गाउँपालिकामा यस वर्ष पूर्व तयारीलाई तीब्र बनाइएको छ । गत वर्षको डुवान र कटानले ११ जनाको मृत्यु, हजारौ बिस्थापित तथा लाखौको धनमाल नष्ट भएको झापा गाउँपालिकामा यसवर्ष उद्धारका लागि डुङ्गाको समेत व्यवस्था गरिएको छ ।
‘यस वर्ष पनि क्षति सुरु भयो, आफ्नो स्रोतले केही काम गर्न सकिन्न’, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले भनिन्, ‘ठूलो माई, सानो माई, विरिङ लगायतका नदीको डुवान र कटान छ, यति ठूला नदीलाई जम्मा ८–१० करोड रुपैयाँ विकास वजेट भएको गाउँपालिकाले के गर्नु र ?’
उनले उद्धारका लागि चाहिने सामग्री खरिद गरेर सुरक्षाकर्मीलाई हाइएलर्ट गर्नुको विकल्प नभएको बताउँदै सोही अनुसारको तयारी गरिएको जानकारी दिइन् ।
यसवर्ष पनि सानो माईले वडा नम्बर २ को सडकबारी जाने पुललाई क्षति पुर्याइसकेको छ । काठेपुलका खम्वा बगाउने अवस्थामा पुगेको उपाध्यक्ष बुढाथोकीले जानकारी दिइन् । वडा नम्वर ७ को कच्छुदहमा ठूलो माईको पानीले डुवान सुरु भएको छ । त्यो फुट्ने हो भने कुवाडी र सडकबारी पूरै वगाउने अवस्था छ ।
चाहेर पनि गाउँपालिकाको स्रोतले ठूला नदीलाई केही गर्न सकिएन, उपाध्यक्ष बुढाथोकीले भनिन, ‘त्यसैले राहत र उद्दारको तयारीमा जुटेका छौं, १२ जनाले प्रयोग गर्न सक्ने डुङ्गा समेत खरिद गरेका छौं ।’
गाउँपालिकाले बाढी पीडितका लागि खाद्यान्य खरिद गरेर स्टक राख्ने समेत तयारी गरिरहेको जनाएको छ । झापा गाउँपालिकाका ७ वटै वडा डुवान र कटानको उच्च जोखिममा छन् । सो क्षेत्रमा पूर्व तयारीका क्षेत्रमा रेडक्रसले समेत काम गरिरहेको वडा नम्वर १ का वासिन्दा कुमारप्रसाद गणेशले बताए ।