बिर्तामोड । झापाको कनकाई नगरपालिकाले आठ वटा नगरपालिका मध्ये सबै भन्दा कम बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले तेस्रो नगरसभाबाट स्वीकृत गरेको आर्थिक बर्ष २०७५/०७६ का लागि विनियोजन गरेको बजेट ४९ करोड ७९ लाख २ हजार छ । यो बजेट झापाका आठवटै नगरपालिका मध्येको कम हो । जनप्रतिनिधीले कार्यभार समालेको एकबर्ष पूरा भएकै दिन विहीवार कार्यक्रमको आयोजना गरी नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले सार्वजनिक गरेको बजेट अन्य नगरपालिकाको भन्दा कम हो । अन्य नगरपालिकाको बजेट ५० करोड भन्दा वढी रहेको छ । नगरपालिकाले विनियोजन गरेको बजेटमा नदी नियन्त्रणका लागि एक करोड ५० लाख, शिक्षातर्फ ४५ लाख, पर्यटन विकास तथा संस्कृति प्रवद्र्धनमा एक करोड, खानेपानी तथा ढलनिकासमा ६० लाख, मेशीनरी औजार खरिदमा एक करोड १५ लाख, बहु उदेश्यसीय कम्प्लेक्स निर्माण समपूरक कोषका लागि ३ करोड २० लाख, सडक मर्मत तथा स्तरोन्नतीका लागि ८० लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै मेयर आवास कार्यक्रमका लागि ३० लाख, सडक बोर्डबाट सञ्चालन हुने योजनाका लागि ५० लाख, प्रकोप तथा विपद ब्यवस्थापनका लागि ७५ लाख, सूचना तथा सञ्चारका लागि १७ लाख, विद्युत विस्तार र सौर्य उर्जाका लागि एक करोड ३० लाख, संस्थागत विकासका लागि एक करोड, नगरपालिका भवन तला थपका लागि ५० लाख, सरसफाई तथा फोहोर व्यवस्थापनतर्फ ५० लाख, लक्षित वर्गका लागि ७५ लाख, स्वास्थ्यतर्फ ३४ लाख १६ हजार, कृषि तथा पशुपालनका लागि ६५ लाख, ससर्ततर्फ ११ लाख ४५ हजार, पशुपालनतर्फ १५ लाख, ससर्ततर्फको लागि ८ लाख १६ हजार र खेलकूदका लागि २५ लाख रकम विनियोजन गरेको छ । नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद एलपी साँवाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद हिरा थापा र एकराज कार्की बिशेष अतिथि रहेका थिए । स्वागत उपमेयर मञ्जु दाहाल प्रसाईले गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र कार्कीले गरेका थिए ।