पानबारी । सुनसरी सिर्जनशील परिवार नेपालले शुक्रबारदेखि एम्बुलेन्स सेवा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीप भण्डारीले एम्बुलेन्स सेवा सुचारु गरेका हुन् । वैदेशिक रोजगारको क्रममा कतारमा रहेका सुनसरीका युवाहरुले कतारमा स्थापना गरेको संस्था सुनसरी सिर्जनशील परिवारले विगतदेखि नै शिक्षा क्षेत्रमा विभिन्न अनुदान तथा सहयोग गर्दै आएको छ । सुनसरीको रामधुनी नगरपालिकाबाट सेवा दिने गरी एम्बुलेन्स सेवाको सुरुआत गरिएको परिवारका अध्यक्ष पुष्कर कार्कीले बताए । एम्बुलेन्स सेवाको शुभारम्भ कार्यक्रममा एम्बुलेन्स खरिदका लागि सहयोग गर्ने दातालाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामुख प्रदीप भण्डारीले वैदेशिक रोजगारमा रहेका युवाहरुले देशको निम्ति ठूलो योगदान गर्दै आएको बताएका थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य धर्मराज निरौला, रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी, नेकपा जिल्ला नेता नन्द बस्नेतलगायतको उपस्थिति रहेको थियो ।