मोरङ । मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमिनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ । जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाएको यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च र घाँस, पराल, भुसको प्रयोग गरेर अस्थायी रूपमा प्रकोपाइन प्रविधि अपनाई तटबन्ध निर्माण गर्दा बाढी आउँदा जमिन कटान रोकिएको छ । उपभोक्ताको सहयोगमा निर्माण गरिएको यो प्रविधिमार्फत् तटबन्ध निर्माणपश्चात् गाउँघरका उब्जनी हुने खेताबारी संरक्षण भई किसान सकुम्बासी हुनबाट जोगिएका छन् । मोरङको बक्राहा, चिसाङ, लोहन्द्रा, केशलिया तथा सिङ्गिया खोलामा प्रोकोपाइन प्रविधिसंँगै तारजाली गरेर तटबन्धको कामलाईसमेत तीव्रता दिएको छ । पूर्वी मोरङको बक्राहा खोलामा तारजालीसहित प्रकोपाइन विधि अपनाएपछि कटान रोकिएको डिभिजन कार्यालय प्रमुुख डा. देवनारायण साहले बताए । रङ्गेली, सुनवर्षी, रतुवामाई नगरपालिका तथा लेटाङ गाउँपालिकाका विभिन्न खोलामा यो विधि अपनाएर तटबन्ध निर्माण गरिएको छ । बक्राहा खोलामा यो प्रविधि अपनाएर चार किलोमिटर भन्दा बढी क्षेत्रमा तटबन्ध निर्माण गरेपश्चात् खोलामा बाढी आउँदासमेत पानीको बहाव नियन्त्रण भई जोखिम कम भएको डा. साहको भनाइ छ । यो प्रविधि अपनाएपछि यस पटकको बाढी आउँदा कटान रोकिएको सुुनवर्षी नगरपालिकाका राकेश मण्डलले बताए । दीर्घकालीन तटबन्धनका लागि पर्याप्त बजेट नभएपछि स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट सस्तो र सहज हुने यो विधि यस क्षेत्रमा प्रभावकारी बनेको हो । थोरै बजेटले सबैतिर तटबन्ध निर्माण समस्या उत्पन्न भएकाले कटान रोक्न र जोखिम हुुन नदिन स्थानीय सामग्रीको प्रयोग गरी उपभोक्ताको सहयोगमा यो विधि अपनाएर तटबन्ध गरिएको कार्यालय प्रमुख डा. साहको भनाइ छ । बाँस, बाँसको कर्ची र घाँस, पराल, भुसको प्रयोगबाट बाँसलाई दुम्सीको काँडाको आकारमा बनाई कटान हुने ठाउँमा तटबन्ध निर्माण गर्ने गरिएको छ ।