विराटनगर । सुन तस्करी र उर्लाबारीका शनम शाक्य हत्या प्रकरणको मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका तीन जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको आदेसले सोमबार ६ जना अभियुक्तमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्ने, तीन जनालाई धरौटीमा छोडने आदेश दिएका हुन् ।

जेल चलान हुनेमा काठमाण्डौ १६ स्वयम्भूका ५४ वर्षिय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षु बहादुर गुरुङ्ग, काठमाण्डौ ६ गौरीघाटका ४२ वर्षिय रामकुमरा तिवारी र काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवाल पुर्पक्षको लगि मोरङ कारागार चलान भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

त्यस्तै उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्त कुमार आचार्य १ लाख २१ हजार ५ सय रुपैयाँ, दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, र दोलखा चरिकोट १ का ४३ वर्षिय मोतीराम श्रेष्ठ जनही १ लाख रुपैयाँ धरौटिमा छोडने आदेश दिएकोे जिल्ला अदालत मोरङले जनाएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना संचलन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरे, प्रहरी अधिकारी सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए ।