विराटनगर। विराटनगरस्थित सञ्जीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिले बिरामीलाई बन्धक बनाएर रकम असुल्ने गरेको तथ्य फेला परेको छ ।

हस्पिटलको नयाँ व्यवस्थापनले बिरामीलाई आफ्नै हस्पिटलबाहेक अन्यत्र रेफर भएर जान नदिने र सोही अस्पतालमै उपचार गराउन बाध्य बनाइरहेको छ । अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर आलोक रायले एक बिरामीलाई उपचार गर्न नसक्ने भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेका थिए । डाक्टरले बिरामी रेफर गरेको थाहा पाएपछि ५० हजार आम्दानी डुबाएको आरोपमा अस्पताल व्यवस्थापनले डाक्टरलाई जागिरबाट हटाएको छ । डाक्टर रायलाई जागिरबाट हटाएसँगै ५० हजार जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको छ ।

दुई वर्षदेखि यस अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. आलोकलाई हस्पिटलमा नयाँ आएका व्यवस्थापकले मर्यादा विपरीत उपचार गराउन दबाव दिएको उनले बताए । ‘यस हस्पिटलमा नयाँ व्यवस्थापन समिति आएको १० दिन भयो’ डा. रायले भने, ‘यहाँ कार्यरत चिकित्सकलाई गैरकानूनी तरिकाले दबाव दिएर बिरामीको उपचार गराउन लगाउँछन् ।’

डा. रायकाअनुसार गम्भीर ‘केस’ मा आएको एक जना बिरामीलाई रेफर गरी अन्यन्त्र हस्पिटल पठाउँदा ५० हजार रुपैयाँ जरिवाना तिराएर हस्पिटलबाट आफूलाई अवकास दिइएको बताए । ‘असार १९ गते बेलुका ११ बजे हस्पिटलमा ४७ वर्षीया रुरुमाया मुगनको कलेजो बिग्रिएर मृगौलामा असर गरेको थियो’ उनले भने, ‘यसको उपचार धरानमा मात्र हुन्छ । यहाँ उपचार सम्भव नभएपछि रेफर गर्दा ५० हजार रुपैयाँ जरिवाना गरी अस्पताल व्यवस्थापनले २० असारमा जागिरबाट हटाएको पत्र मेरो हातमा थमाइदियोे ।’

हस्पिटलका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले डा. रायलाई हटाएको पत्रमा उक्त बिरामीबाट अस्पताललाई करिब ५० हजार रुपैयाँ आम्दानी हुने भएकाले सो बराबरको जरिवाना लिइएको उल्लेख छ । चिकित्सक रायले उक्त हस्पिटलले कुनै स्पष्टीकरण माग नगरी सिधै जरिवाना गरी जागिरबाट निकालेको भन्दै आवश्यक सहयोग माग्दै असार २१ गते नेपाल चिकित्सक सङ्घ कोशी अञ्चल विराटनगरमा निवेदन दिएका छन् । ‘हस्पिटलले झुटा आरोप लगाएर कुनै स्पष्टीकरण नसोधी सिधै जागिरबाट हटाएर मानसिक तनाव दिएकाले क्षतिपूर्ति दिलाइपाउँ’ –उनले लेखेको पत्रमा उल्लेख छ ।

यता अस्पतालका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले भने डाक्टरलाई कुनै पत्र नदिएको बताए । पत्र सार्वजनिक भएको विषयमा आन्तरिक छानबिन गरिने बताए । ‘डा. रायलाई कुनै पनि पत्र काटेको छैन’ उनले भने, ‘हामीले पत्र बनाएर राखेका छौं । दिएका छैनौं, तर कसरी पत्र सार्वजनिक भयो अचम्ममा परेको छु, हामीले आम्दानी बापत ५० हजार जरिवाना गराउने पत्र बनाएका छैनौं ।’

पत्रमा भने ५० हजार आम्दानी हुनबाट रोकेको भन्दै जरिवाना लिइने उल्लेख गरिएको छ । कर्णले बिरामीलाई रेफर गर्दा प्रक्रिया नपुगेको कारण डाक्टरलाई पत्र भने दिन लागिएको उनले बताए । नेपाल चिकित्सक सङ्घ कोशी अञ्चल शाखा विराटनगरका अध्यक्ष डा. फरवर्ड सिलवालले भने हस्पिटल व्यवस्थापकले गम्भीर लापरबाही गरेको स्वीकार गरिसकेको बताए । ‘छलफलमा हस्पिटल व्यवस्थापनले गल्ती स्वीकार गरेको छ’ उनले भने, ‘अब चिकित्सवलाई स–सम्मान काममा पुनर्बहालीको लागि पहल भइरहेको छ ।’