-
Home
-
पूर्व
-
भद्रपुरमा तस्करी रोक्न प्रहरी सक्रिय
भद्रपुरमा तस्करी रोक्न प्रहरी सक्रिय
- असार २६, २०७५
- ब्लाष्ट खबर
भद्रपुर । पूर्वी नाका भद्रपुरबाट तस्करी मौलाएको समाचार सार्वजानिक भएपछि दुवै निकायका प्रहरीहरू सक्रिय भएका छन् । आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरी भद्रपुरका कारोबारीले नेपाल र भारतका नाका प्रयोग गर्दै अवैधबाटोबाट सरसामान नेपाल भित्र्याउन थालेको घटना सार्वजनिक भएपछि रोकथामको लागि प्रहरी सक्रिय भएको हो ।
भद्रपुरबाट केही दिन अघि सशस्त्र प्रहरीले तीनलाख मूल्य बरावरको कपडा बरामद गरेपछि नेपाल प्रहरीलाई चुनौती भएको थियो । भन्सार छलेर सामान नेपाल भित्र्याउन थालेको भन्ने सुचना नेपाल प्रहरीका १ नम्बर प्रदेश प्रमुख(डिआइजी) लाई समेत जानकारी आएपछि मातहातका प्रहरी युनिटलाई निर्देशन दिएका थिए ।
भद्रपुर लगायतका नाकाबाट भन्सार छलेर सामान नेपाल भित्रिएमा कारबाही गरिने भन्ने प्रहरी युनिटलाई जानकारी गराएपछि तस्करी रोक्न प्रहरी चनाखो हुन थालेको छ । प्रहरीले तस्करी रोक्न सादा पोशाकमा प्रहरीको गतिविधि बढाएको प्रहरी स्रोतले जनाएको छ ।
ब्लाष्ट दैनिकमार्फत तस्करीको विषयमा समाचार सार्वजानिक भएपछि वडा प्रहरी कार्यालय भद्रपुरले सुर्ती, कपडा, भारतीय चिया गरी साढे दुईलाख मूल्य बराबरको सामान बरामद गरेको छ ।
नेपाल तथा भारतको बंगाल तथा बिहार राज्य जोडिएको भद्रपुर नाकाबाट यो सिजनमा करोडौ मूल्य बराबरको लत्ताकपडा नेपाल भित्रिने गरेको विगतकै तथ्याङ्कले देखाउँछ । तर, भारतको गलगलिया भन्सार भएर भद्रपुर छोटी भन्सार भित्रिने सरसामान अवैध नाका प्रयोग गरी कारोबारीले भित्र्याउन थालेका थिए । तस्करीको समाचार सार्वजानिक भइसकेपछि उनिहरुले सिलगढीबाट खरिद गरिएका कपडा मेची भन्सार काकडभिट्टा नभई अनकौ झन्झट गरेर भए पनि भद्रपुर छोटी भन्सारमा ल्याउन शुरु गरेका छन् ।
व्यापारी र कर्मचारीबीच पचास प्रतिशतमात्र भन्सार राजस्व बुझाउने आन्तरिक सहमती भएपछि सामानलाई भन्सार छिराउन शुरु गरेको कारोबारी बताउँछन् । नदीमा पानी बढेका कारण पुलबाट मात्रै सामान ल्याउनु पर्ने भएकाले भन्सारसँग कुरा मिलाएर ल्याउन थालिएको अर्का कारोबारीले बताए । चाड पर्वमा चाहिने कपडा अहिले नै स्टक नगरे पछि कुनै व्यापारीले नराख्ने भएकाले जसरी भएपनि यो दुई महिना काम गर्नै पर्ने उनिहरु बताउँछन् ।
भन्सारमा कुरा मिलेपछि शुक्रबार भारतबाट एकैदिन अनुमानित साढे दुईसय पोका कपडा छोटी भन्सारमा जम्मा भएको छ । भारतबाट साँझ ५ बजे कस्टम काटेर नेपालतर्फ छिराइसक्नु पर्ने नियम छ भने छोटीले पनि साँझ ७ बजेभित्र भन्सार ल्याइसक्नु पर्ने नियम बनाएको छ ,तर कारोबारीले मेचीपुल पारी ५५ पोका कपडा जम्मा गरेका थिए । ‘सेटिङ्’ मिलाएर दायाबाँया गर्ने योजना विफल भएपछि राति साढे १० बजे प्रहरीको साथमा कपडा भन्सार ल्याएका थिए ।
भन्सारको नियम विपरीत सामान ल्याउन नपाइने भएकोले एक पटकलाई व्यवहारिकता हेरिएको सशस्त्र प्रहरी झापाका एसपी रेशमकुमार थाक्सुले बताए । यो विषयमा भन्सारसँग छलफल गरेर निर्णयमा पुगिने उनले जनाए । पचास प्रतिशतको कुरामा छोटी भन्सारकै अधिकृतसँग जानकारी लिन मेची भन्सार कार्यालय काकडभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्याल आग्रह गरे । अहिलेको समयमा सबैतिर कडाइ भएकाले यस्तो नहुनु पर्ने उनले बताए । भारतले कस्टम काटेको समयलाई अन्दाज गरेर छोटीमा सामान आउनु पर्ने उनको भनाइ छ ।
भन्सारको नियमअनुसार राजश्व लिने गरेको छोटी भन्सार कार्यालय भद्रपुरका अधिकृत रमेश खतिवडाले दाबी गरे । कर्मचारी र व्यापारीको पचास प्रतिशतमा सम्झौता भएको भन्ने विषय कपोकल्पित भएको उनले जनाए ।