धनकुटा । धनकुटा नगरपालिकाले आ.व.०७४/ ०७५ मा निर्माण कार्य गरिरहेको धनकुटा बसपार्कको स्तर उन्नति गर्ने निर्माण कार्य ढिलो भैरहेको सेवा ग्राहीले गुनासो गरेका छन् । धनकुटा नगरपालिकाले धनकुटा बसपार्कको भौतिक पूर्वाधार निर्माण गरी स्तर उन्नति गर्न सलटर कन्ट्रक्सन तेह्रथुमलाई ८४ लाख, ७१ हजार, ९ सय ६२ रुपैयाँमा ०७४ फागुन महिनाको १३ गते सम्झौता गरेर निर्माण कार्य सम्पन्न गर्न जिम्मेवारी दिएको थियो । आयोजनाको कूल लागत भने मूल्य अभिवृद्धि करसहित ९५ लाख, ७३ हजार, ३ सय १७ रुपैयाँ, ६ पैसा रहेको छ । तर निर्माण कार्य थालेको ५ महिना बित्न लाग्दा पनि धनकुटा बसपार्कको निर्माण कार्य नसकिँदा स्थानीय उपभोक्ता र बसपार्क आसपासमा व्यवसाय गर्ने व्यवसायीलाई मार परेको उनीहरुले गुनासो गरेका छन् । धरान, धनकुटा हुँदै पहाडी रुटमा चल्ने १५६ वटा बस मध्ये दैनिक ४५ ओटा बस, ३ दर्जनको हाराहारीमा माईक्रो बस, २ दर्जनको हाराहारीमा साना सवारी साधन आउने–जाने गरेको यातायात व्यावसायी थामबहादुर राईले ब्लाष्टलाई बताए । राईले लामो समय देखि बसपार्कमा निर्माण सामाग्री थुपारिँदा सवारी साधन आवात–जावतमा समस्या भइरहेको बताए । निर्माण कार्य छिटोछरितो नहुँदा बसपार्क अस्तव्यस्त भएका कारण सवारी पार्किङ्गमा समस्या भएको यातायात व्यावसायी राईले गुनासो गरे । व्यवसायी पनि मार्कामा धनकुटा–७ बसपार्कमा लामो समयदेखि होटल तथा फलफूल पसल गरिहेका तीर्थ तामाङले बसपार्क निर्माण कार्यले धनकुटा बसपार्कमा होटल व्यवसायीलाई घाटा भइरहेको बताएका छन् । तामाङले बसपार्कमा निर्माण गर्न सामग्री थुपारेको कारण साँघुरो भएको र यात्रु बसपार्कमा नओर्लदा व्यापार सुकेको बताए । घाम लाग्दा धुलो, पानी पर्दा हिलो हुने भएकाले बसपार्कको व्यापार चौपट्ट भइरहेको व्यावसायी तामाङले बताए । टाढा–टाढाबाट आएका यात्रुवाहक बसलाई पार्किङ्गको अभाव हुँदा यात्रुको चाप पनि बसपार्कमा खस्किएको तामाङको भनाइ छ । बसपार्क स्तरउन्नतिका लागि निर्माण कार्यको जिम्मेवारी लिएको सल्टर कन्ट्रक्सनका प्रतिनिधि आशिस आठपहरियाले निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताए । उनले निर्माणको क्रममा टेवा पर्खाल, पेटी निर्माण, ढल निर्माणको काम सकिएको र बसपार्क ढलाइको काम मात्र थोरै बाँकी रहेको बताए । उनले ढलाइको काम पनि असार मसान्तसम्ममा सम्पन्न हुने जानकारी दिए । उनले वर्षाले गर्दा काममा केही ढिलाई भइरहेका बताएका छन् । एकातिर पानी पर्ने अर्कातिर सवारी साधनको आवतजावतले गर्दा निर्माण कार्य भने जस्तो सूचारु गर्न नसक्दा निर्माण कार्य ढिलो भएको आठपहरियाले स्वीकारे । बसपार्क निर्माणमा ढिलाई भइरहेको विषयमा धनकुटा नगरपालिकाका इञ्जिनियर मिङ्गमा दोर्जे शेर्पाले असार महिनाको २५ गते अगावै निर्माण कार्य सक्ने गरी सम्झौता भएको बताए । शेर्पाले तोकिएको समयमा बसपार्क निर्माण कार्य सक्न नगरपालिकाको तर्फबाट अनुगमन भइरहेको बताए । उनले बसपार्कको साइड हेर्न कार्यालयको तर्फबाट प्राविधिक खगेन्द्र रायमाझीलाई जिम्मेवारी दिएको बताए । यस अघि धनकुटा बसपार्क पहिलो पटक धनकुटा नगरपालिकाले २०५८ सालमा आरसीसी ढलाइ गरेको थियो । धनकुटा बसपार्क निर्माण भएको १६ वर्षपछि पुनः पहिले ढलाइ गरेको माथि नै ढलाइ गरिएको छ । यसरी ढलाइ गर्दा बलियो हुने नगरपालिकाका इञ्जिनियर शेर्पाको भनाइ छ ।