सुनसरी । सुनसरीको वराहक्षेत्र–११ इक्राई टोलमा चैत ३ गते विद्युत सर्ट भई भीषण आगलागी हुँदा ३६ परिवारका १ सय ५२ परिवार विस्थापित भए । आगलागीबाट पूरै बस्ती सखाप भयो । लत्ता कपडा, अन्न पात,गर गहना चौपाया आगोमा परे । १ करोड ५६ हजार बराबरको क्षति भयो । मानवीय क्षति हुन पाएन । त्यसताका विभिन्न सङ्घ–संस्थाले राहत सामग्री प्रदान गरे । तर, बर्खामा यी परिवार सुरक्षित घरका छानामुनि रहन सकेनन् । जस्ताको पाता बाँस टेको लगाएर छाना बनाइएको छ । त्रिपाल वरिपरि टाँगिएको छ, जसले पर्खालको काम गरिरहेको छ ।
आगलागी भएको ३ महिना बितिसक्दा पनि बस्तीका परिवारको बसोबास व्यवस्थित हुन सकेन । यो बस्ती ऐलानी जग्गामा पर्दछ । बस्तीका धेरै परिवारले बिहान बेलुका बनी गरेर छाक टार्नु पर्ने बाध्यात्मक अवस्था छ । ३६ परिवारको सुरक्षित आवासका निम्ति आवास निर्माण र शौचालयका सामग्री ग्रामीण स्वावलम्वन विकास केन्द्र र वराहक्षेत्र नगरपालिकाको सहकार्यमा प्रदान गर्ने भएको छ । आवास निर्माण गर्ने श्रमदान लगायतको खर्च अग्नि पीडितले नै गर्नु पर्छ । मधुवन–प्रकाशपुर सरोकार समाज, अनिल गुप्ता, कञ्चन कटुवाल, नरेशकुमार श्रेष्ठको तर्फबाट ३६ वटा सिलिन्डर र ग्यास सबै परिवारलाई दिएको छ । ‘सुत्ने खाट छैन, ओत लाग्न व्यवस्थित ठाउँ छैन, पानीले किताब भिजाइदियो ।’ कक्षा १० मा अध्यनरत रञ्जित कुमार सरदार भन्छन् , ‘आगलागीपछि राहत स्वरुप दिएको त्रिपाल र जस्ताले बेरेर दुःखसुख त बसिएको छ तर पानी पर्दा निकै समस्या बेहोर्नु परेको छ ।’
त्यस्तै पीडा छ, स्थानीय सङ्गीता सरदारको । भन्छिन्, ‘काखको ६ महिनाको नानी छ पानी पर्दा उसलाई च्यापेर राख्ने गरेको छु, भिजेर नानी रुन्छ के गर्नु घर बनाइदिन्छु त भन्नु भएको छ तर कहिले बन्ने होला खै ? आफू त दुःखसुख बसिन्छ तर सानानानीहरुको बिजोग हुने भयो ।’ ५० वर्षिया गङ्गिया सरदार घरका बालबच्चा हेरर बस्छिन् । घरकै चुलो चौका गर्ने उनका परिवार बनिबुतो गर्छन् । मेला पात जान्छन् । गङ्गियाको परिवारलाई पानी पर्दा निकै समस्या पर्छ । सुत्न खाट छैन । भुइँमा चिसोमा सुत्नु पर्छ । उनी आफैँ बिरामी छिन् । भन्छिन्, ‘कहिलेकाही त सर्प पनि आउँछ, धन्न अहिलेसम्म टोकेको छैन, चाँडै घर बनाइदिए हामी जस्ता बूढाबूढी, केटाकेटीलाई बस्न सजिलो हुनेथियो ।’ ज्यालादारी गर्ने २८ वर्षिया सविता सरदारका श्रीमान् घरमा छैनन् । मजदुरीका लागि भारत गएका छन् । काखे बच्चा स्याहार गर्ने उनको पनि बर्खामा बिलौना छ । वराहक्षेत्र नगरपालिकाले अग्नि पीडितका लागि १० ओटा कल र प्रत्येक घरलाई ४५ ओटाका दरले बाँस दिएको छ । ग्रामीण स्वावलम्वन विकास केन्द्रको तर्फबाट ३६ परिवारलाई ३८ लाख ८५ हजार बराबरका सामग्री प्रदान गरिएको छ । जसमा पिलर, ट्वाइलेटको प्यान, गिटी, बालुवालगायतका सामग्री छन्। प्रहरी चौकी मधुवनलाई एउटा फायर स्ट्यान्ड दिइएको छ । अग्नी पीडित परिवारले श्रमदान गर्नु पर्ने ग्रामीण स्वावलम्वन विकास केन्द्रका संयोजक दिपेन्द्र गौतम बताउँछन् । ३ महिनामा आवास निर्माण गरिसक्नु पर्ने थियो तर जग्गा विवादका कारण छुट्याउन समस्या भएको छ । अब १ महिना भित्रमा निर्माण सम्पन्न गरीसक्ने गौतमले बताएका छन् ।