पानबारी । धरान उपमहानगरपालिकाका जनप्रतिनिधि तथा वडा सचिवहरूलाई दुई दिने क्षमता विकासका लागि अभिमुखीकरण प्रदान गरिएको छ ।
स्थानीय सरकार सञ्चालनको आधारभूत ज्ञान दिने उदेश्यले जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा सञ्चालित २ दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव र वडा सदस्यहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि रिजाल, धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरे लगायतले सहजीकरण गरेका थिए ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधिलाई आफ्नो काम, कर्तव्य र अधिकार के कस्तो छ, स्थानीय स्तरमा वडा तहले कस्तो अधिकार र जिम्मेवारी पाएको छ, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक प्रशासन, खरिद व्यवस्थापन र जनताले दैनिक रुपमा प्राप्त गर्ने सिफारिस र प्रमाणित गर्ने काम कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको जिल्ला समन्वय अधिकारी पुष्कर भट्टराईले जनाएका छन् ।
सुनसरीका १२ वटै स्थानीय तहमा कार्यक्रम गरिने भएपनि वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, हरिनगरा गाउँपालिका र गढी गाउँपालिकामा भने कार्यक्रम गर्न बाँकी रहेको भट्टराईले बताए ।