राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली पुल एक साईडबाट भत्किएपछि सवारी आवागमन असहज भएको छ । तत्काल मर्मत र सुरक्षा नगरे बाँकी रहेको भागसमेत भत्किने खतरा बढेको छ ।
अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली खोलामा रहेको पुल १ हजार १ सय मिटर मध्ये उत्तरपटिबाट करिव ५० मिटर भाग भत्किएको छ । चार दिन अघिको वर्षासँगै खोलामा आएको बाढीका कारण पुलमा क्षति पुगेको थियो ।
समयमा मर्मत नहुँदा शनिबार साँझ साढे ६ बजे क्षति भएको भाग भत्किएको स्थानीय अशोक आचार्यले बताए । पुलको एकतर्फको भाग भत्किएपछि एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ । तर, समयमा मर्मतको काम नभए वर्षात सुरु भएपछि बाढीले माटो बगाएर बाँकी रहेको भागसमेत बगाउन सक्ने खतरा रहेको स्थानीय बताउँछन् । यो पुल भएर दैनिक साना–ठूला झण्डै ३ हजार सवारी साधन आवत–जावत गर्छन् ।
एकतर्फी यातायात सञ्चालनमा आइरहेकाले तत्काल कुनै समस्या नदेखिए पनि पानी पर्न थालेपछि खोलामा आउने बाढीले कटान गरेर बाँकी भाग पनि बगाउन सक्ने सप्तरीका एसपी मुकेशकुमार सिंह बताउँछन् ।
‘चार दिन अघि नै पूर्वपश्चिम चिरिएर पुलको एक साइड भास्सिएको थियो, हामीले लहानस्थित सडक डिभिजन कार्यालयलाई जानकारी पनि गराएका हौँ’ एसपी सिंहले भने, ‘तर समयमा सुरक्षाको प्रबन्ध मिलाउन नसक्दा पुल भत्किएको हो ।’ तत्काल सुरक्षाको व्यवस्था नमिलाए खतरा बाँकी नै रहेको उनको भनाइ छ ।
सडक डिभिजन कार्यालयले भने यातायातमा अवरोध नहुने गरी पुलको सुरक्षा र मर्मतको काम सुरु भइसकेको जनाएको छ । भत्किएको ठाउँमा तारजाली लगाएर मर्मत र सुरक्षा गर्ने तथा क्षति पुगेको भागमा बाढीले असर नगरोस् भन्नका लागि माथिल्लो भागमा स्पर निर्माणका लागि तयारी भइरहेको सडक विभागका पूर्वाञ्चल क्षेत्रीय निर्देशक दिपककुमार भट्टराईले बताए ।
बाढीले पुलमा क्षति गरेको जानकारी पाएपछि आवश्यक स्रोत साधन जुटाउँदा–जुटाउँदै सो भाग भत्किएको स्विकार गर्दै भट्टराईले भास्सिएको भाग भत्काएरमात्र मर्मत गर्नु पर्ने भएकाले त्यसलाई ठूलो कुरा बनाउन नहुने बताए ।
‘क्षति भएकै ठाउँमा मर्मत हुने अवस्था थिएन, भत्किएको राम्रै भयो’ उनले भने, ‘वर्षाको समय भएकाले यातायात अवरोध नहुने गरी तत्काल मर्मत र सुरक्षाको काम हुन्छ । त्यसपछि दीर्घकालीन के गर्न सकिन्छ, सबै गरिन्छ ।’ मर्मत र सुरक्षाका लागि कम्तिमा ७ दिन लाग्न सक्ने उनले जानकारी दिए ।