ताप्लेजुङ/ताप्लेजुङको ओलाङचुङ गोला हुँदै तिब्बत जोडिने सडक निमार्ण कार्य जारी छ । पछिल्लो समय तमोरको तिरैतिर तिब्बत जोड्ने उत्तर–दक्षिण तमोर करिडोर बिस्तारको कामले गति लिएको हो । बहुवर्षीय ठेक्का प्रणालीअन्तर्गत कामको जिम्मा पाएको एलाइट कम्पनीले फक्ताङलुङ गाउँपालिका ५ तापेथोकको हेल्लोक छेउबाट तीन कि.मी ट्रयाक खोलेर लेलेपको सेखाथुम पुर्याएको छ । अब ओलाङचुङगोलासम्म ट्रयाक खुल्न ३० किलोमिटर बाँकी रहेको कामको जिम्मा पाएको एलाइट कम्पनीका प्रोजेक्ट मेनेजर राजिव लामिछानेले बताए । तिब्बतसँगको नाका टिपताला भञ्ज्याङबाट ओलाङचुङगोलासम्म यसअघि नै २४ किलोमिटर ट्रयाक खुलिसकेको छ । ओलाङचुङगोलामा जन्मेर देश र विदेशमा रहेका वालुङहरूले आफ्नै लगानीमा बस्तीदेखि तिब्बत जोड्ने सडकको ट्रयाक खोलेका हुन् । वालुङ समाजले ३ करोडभन्दा बढी लगानीमा २४ किलोमिटर सडक निर्माण गरेको छ । समुदायबाट रकम जुटाई चिनियाँ ठेकेदार कम्पनीमार्फत बस्तीसम्म सडक पुर्याइएको हो । तर पनि गाडी भने चढ्न पाएका छैनन् । सदरमुकाम फुङलिङबाट बिस्तार भइरहेको सडक नजोडिएको र तिब्बतबाट सवारीसाधन खरिद गर्ने वातावरण नभएकाले स्थानीयले मोटरबाटो भए पनि गाडी चढ्न पाएका छैनन् ।
३६ करोड रुपैयाँको लागतमा काठमाडौको एलाइट कम्पनिले डेढ महिनाअघि सडक बिस्तारको जिम्मा पाएको थियो । ‘अहिले तल्लो क्षेत्रबाट दुई वटा मेसिनले काम गरिरहेका छौं,’ प्रोजेक्ट मेनेजर राजिव लामिछानेले भने,‘माथिल्लो भागबाट पनि मेसिन ल्याएर काम सुरु गर्ने तयारी भइरहेको छ ।’ तल्लो क्षेत्रको कामको गति बढाउन थप मेसिन विहिबार लेलेप पुगेको लामिछानेले बताए । यस्तै गतिमा काम भए अवको १५ देखि १८ महिना सम्ममा यो सडक तिव्वत जोडिने लामिछानेले जानकारी दिए । “स्थानियको सहयोग र यहि रफ्तारमा सडक निमार्ण भए अबको १५ देखि १८ महिनामा हामी तिब्बत सम्म सडकले जोड्छौ ।”माथील्लो क्षेत्रका लागि रसुवागढी नाकाबाट घुमाएर तिब्बत हुँदै ओलाङचुङगोला पु¥याउन चिचियाँसँग समन्वय भइरहेको छ । सडक बिस्तारका लागि ६० करोड रुपैयाँ छुट्याइए पनि ३६ करोडको मात्र ठेक्का लागेको हो । ट्रयाक चाँडो खोल्न दुबै तिरबाट सडक बिस्तार गरिनुपर्ने माग स्थानीयको छ । अहिले ट्रयाक पुगेको लेलेप र ओलाङचुङगोलाबाट पनि सडक विस्तार गर्न स्थानीयको माग रहेको लेलेपका वडाध्यक्ष चन्द्र शेर्पाले बताए । दुवै तर्फबाट काम भए आगामी वर्षमै तिब्बत सडकले जोडिने शेर्पाको भनाई छ । सडक बिस्तारमा अहिले सबै क्षेत्रबाट सहयोग रहेको आयोजना कार्यालयले जनाएको छ । केहि दिन अघि कञ्चनजंगा आधार शिविर र ओलाङचुङगोला जाने बाटो छुट्टिने हान्द्रुङ पुल छेउमा सडक कताबाट लाने भन्ने विषयमा केहि विवाद भएपनि अहिले त्यो समाधान भइसकेको फक्ताङलुङ गाउँपालिका प्रमुख सरोज एभेङले बताए । ‘बस्ती बाट लैजाने कि नलैजाने भन्ने विषयमा कुरा बाझिएको थियो,’ एभेङले भने,‘सडक कार्यालय,गाउँपालिका र स्थानीय बसेर सहमति जुटाइसक्यौं ।’ लेलेपको बस्ती नछोई गुम्बाछेउबाट सिधै लुङथुङ तर्फ लैजाने सहमति भएको उनले बताए । ठूला–ठूला पहाडको चट्टान फोरेर जानुपर्ने हुँदा विष्फोटक पदार्थ झिकाउन भारतिय कम्पनीसँग सम्पर्क भएको र नेपाल सरकारसँग अनुमति लिने काम भइरहेको अयोजनाले बताएको छ ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा रहेको घुन्सा क्षेत्रका बासिन्दाले आफ्नो क्षेत्रमा मोटरेबल सडक विस्तार नगर्ने र ट्रेकिङ रुट बनाउनुपर्ने प्रस्ताव गरेका छन् । कञ्चनजंघा जानेलाई समेत राहत हुने गरी रानीपुलबाट तमोर नदी तारिएको हो । यहाँबाट घुन्सा जान नजिक पर्छ भने कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालय, सरस्वती मावि लेलेपको विद्यालय भवन नजिकैबाट लुङथुङ जोडिनेछ । अहिले रानीपुलसम्म गाडी पुग्ने र गाउँपालिका केन्द्र तापेथोकसम्म नियमित साना सवारी चल्ने गरेका छन् । सदरमुकाम फुङलिङबाट दैनिक चार वटा साना गाडी आउजाउ गर्छन् । रानीपुल सम्मै गाडी पुगेपछि लेलेप र ओलाङचुङगोलाका बासिन्दालाई समेत राहत पुगेको स्थानीय प्रकाश शेर्पाले बताए । लुङथुङसम्म सडक पुगेपछि सदरमुकामबाट एकै दिनमा पर्यटकीय गाउँ ओलाङचुङगोला पुग्न सकिन्छ ।