ताप्लेजुङ । पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथिभरा पुग्ने पदमार्ग पुनर्निर्माण गरिएको छ । पाथिभराक्षेत्र विकास समितिबाट विनियोजित १५ लाख रुपैयाँबाट ६ सय ३८ मिटर पदमार्ग स्तरोन्नति तथा निर्माण गरिएको हो । पाथिभरा जाने तीर्थ यात्री तथा धार्मिक पर्यटकको सुविधाका लागि विनियोजन भएको उक्त बजेटबाट यस वर्ष हरीयोपाटीबाट प्रहरी फलैँचासम्म पदमार्ग निर्माण तथा पुरानो पदमार्गको स्तरोन्नति गरिएको पाथिभराक्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिए । यस अघि आर्थिक वर्ष ०७१÷७२ मा साढे १२ लाख, ०७२÷७३ मा ११ लाख र ०७३÷७४ मा ५ लाख विनियोजन गरी पदमार्ग निर्माण भएको थियो । कार्यकारी निर्देशक भट्टराईका अनुसार अब मन्दिर सम्मको बाँकी ६ सय १९ मिटर पदमार्गसमेत आगामी वर्षसम्ममा स्तरोन्नति गरिने छ । पदमार्ग निर्माणका लागि मोटामोटी २० लाख लागत लाग्ने अनुमान गरिएको छ । पदमार्ग निर्माण भएपछि पाथिभरा दर्शनका लागि आउने तीर्थालुलाई सजिलो भएको भट्टराई बताउँछन् । उनी भन्छन्, ‘धार्मिक तथा पर्यटकीय पूर्वाधार तयार गरी उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने योजनमा छौं ।’ रमणीय स्थलका रूपमा रहेको पाथिभरा मन्दिरवरिपरि संरक्षित जनावर र पुशपंक्षीको बासस्थानसमेत भएकाले प्राकृतिक स्वरुप नबिग्रने गरी सुविधायुक्त पूर्वाधार व्यवस्थापनका लागि योजना अघि बढाइएको पाथिभराक्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले बताए ।