रङ्गेली । विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक यातायात व्यवसायी, उद्योगीलगायत सरोकारवालासँग आइतबार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो । जसका लागि विराटनगर स्थित ट्राफिक चोकदेखि जलजलामोडसम्म मेनरोडमा दुवैतर्फ पार्किङ निषेध गरिनुका साथै ए प्लट, बी प्लट र नमस्कार होटल अगाडिको भागमा पार्किङ गर्न दिइने, बुधहाटचौक, हनुमान मन्दिरदेखि जलजला मोडसम्म लाग्दै आएको ‘वान वे’ मा दुईपाङ्ग्रे सवारी साधनलाई आवत–जावत खुल्ला गरिने भएको छ ।
यस्तै अन्य सवारीसाधनको हकमा ‘वान वे’ यथावत रहने छ । यस्तै वडा प्रहरी कार्यालय ‘क’ देखि जलजला मोडसम्मको सडकमा समेत एकतर्फी पार्किङको व्यवस्था गरिने निर्णय गरिएको छ । कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले ट्राफिकसँगको सहकार्यमा महानगरले जनमुखी कार्यलाई निरन्तरता दिने बताए । उनले महानगर भित्रको ट्राफिक व्यवस्थापनलाई साउन १ गतेदेखि पूर्ण कार्यान्वयनमा ल्याउने जानकारी दिए । यस्तै कार्यक्रममा जिल्ला ट्राफिकका प्रमुख शिव पोखरेलले ट्राफिक व्यवस्थापनमा केही नयाँपन दिन लागेको बताए । पोखरेलले जिल्लाभरि ट्राफिकको समस्या पहिचान गरी समाधानका लागि अगाडि बढ्ने बताए । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद दाहाल, मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडा, उद्योगी नविन रिजाल, जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक निशान थापा, विराट व्यापार सङ्घका सुजन थापा, पूर्व नेपाल यातायात व्यवसायी महासङ्घका धर्मदेव साह लगायतले ट्राफिक व्यवस्थापन र सहजताका विषयमा सुझाव दिएका थिए ।