जिरोपोइन्ट । मोरङको ग्रामथान गाउँपालिका तेतरिया–५ मा ‘बराह कृषि उपज तथा पशुपालन प्रालि’को सुरूआत भएको छ । चार बिगाहा १० कट्ठा क्षेत्रफलमा दुई ओटा पोखरीमा माछा पालन गरिएको छ । दुई ओटा कुखुरा फारममा १५ सय कुखुरा, तीन ओटा गोठमा ७१ ओटा गाई पालिएको छ । प्रालिले सम्भावनाको अध्ययन गरी उन्नत जातको घाँस, बीउ बिजन उत्पादन गर्ने, तरकारी खेती, दूधजन्य परिकारको उत्पादन, कृषि पर्यटन, बायो ग्यास उत्पादनलाई अघि बढाई कृषिलाई आधुनिकीकरण गर्ने योजना बनाएको छ । चार करोडको लगानीमा सुरू भएको भनिएको उक्त कृषि उपज तथा पशुपालन प्रालिको सोमबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले औपचारिक उद्घाटन गरे । मुख्यमन्त्री राईले प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने नीति बनाएको उल्लेख गरे । प्रदेश सरकारले कृषि र अन्य क्षेत्रको विकासमा प्राथमिकता दिने समेत मुख्यमन्त्री राईले बताए । सो अवसरमा बराह कृषि उपज तथा पशुपालन प्रालिमा कार्यरत कर्मचारी र धरानमा बस्दै आएकी सगरमाथा आरोही देउराली चाम्लिङलाई कदर–पत्रसहित सम्मान गरिएको थियो ।