बेलबारी । मोरङको केराबारी गाउँपालिका–१ स्थित सिंहदेवी जाने बीच बाटोमा पहिरोले सडक अवरुद्ध गरेपछि स्थानीयलाई आवातजावतमा समस्या परेको छ । केही दिन अघि आएको वर्षाले केराबारी गाउँपालिका–१ स्थित बाघखोरमा पहिरो झरेपछि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयले अवरोध हटाउन गाउँपालिकासमक्ष माग गरेका छन् । सडक अवरुद्ध भएपछि सिंहदेवी जाने यात्रु बाघखोरबाट हिँडेर जाने गरेका छन् । सर्वसाधरणलाई अहिले आवत–जावतमा समस्या परेको छ । हिउँददेखि यात्रुबस चल्न शुरु गरेको केराबारी–सिंहदेवी सडकको बाटो हुँदै यात्रुबसहरू रामपुरसम्म सहज रुपमै जाने गरेको थियो । वर्षाको कारण अहिले अवरुद्ध सडक खुलाउन नसकिएको केराबारी गाउँपालिका–३ का अध्यक्ष भक्त श्रेष्ठले बताए । गाउँपालिकामा बजेटसमेत नभएका कारण समस्या परेको श्रेष्ठले बताए । सडक अवरुद्ध भएपछि केराबारी हुँदै धनकुटाको साम्मेवा जाने यात्रीलाई असहज भएको छ । एसियाली विकास बैंकको सहयोगमा केराबारीदेखि साम्मेवासम्म पक्की सडक बन्ने क्रम सँगसँगै भोगटेनी सडकबाट आवत–जावत गर्नेको चाप बढेको छ । सडक अवरुद्ध भएपछि प्रत्यक्ष रूपमा गाउँपालिकामा सेवा लिन आउने र व्यवसायी मार्कामा परेका छन् ।