पथरीशनिश्चरे । सडक मर्मतका नाममा यसबेला पूर्वपश्चिम मुख्य सडक अन्तर्गत मोरङको पथरीशनिश्चरे र कानेपोखरी क्षेत्रमा हालिएको मिक्स गिट्टीले यात्रुहरु दुर्घटनामा परेका छन् । अलकत्रामाथि ससाना खैरो रंगको मिक्स गिट्टी हालेर सडकको मर्मत गर्ने नयाँ तरिका ‘सर्फेस ड्रेसिङ’ ले यसबेला समस्या सिर्जना गरिरहेको हो । टाँसिन बाँकी रहेर छेउलागेको गिट्टी तत्काल उठाउनु पर्नेमा नउठाई सडक किनारमै २ सातादेखि छोडिँदा त्यस गिट्टीले यातायातका साधन चिप्लिएर दुर्घटना हुने गरेको छ । यसै क्रममा मंगलबार आफ्नो कार्यालयको काम सकेर स्कुटरमा सुन्दरहरैंचा घर फर्कदैं गरेका पथरीशनिश्चरे नगरपालिकाका शिक्षा शाखाका विद्यालय निरीक्षक दुर्गा सिग्देल गिट्टीमा चिप्लिएर दुर्घटनामा परेका छन् । वडा नम्बर १० को जिरिखिम्तीमा पुग्दा दुवैतर्फबाट बसहरु आएको र आफुले त्यही गिट्टी भएको ठाउँमा साइड दिनुपर्दा त्यहाँ चिप्लिएर लडी उनको देव्रे खुट्टाको गोलीगाँठामाथि भाँच्चिएको छ । उनी चढेको को. ३१ प ४६४१ नम्वरको स्कुटर सामान्य क्षति भएको छ । उनले सुकुना सामुदायिक अस्पतालमा उपचार गराएका छन् । ‘यो त सडक ठेक्का लिनेको सरासर गल्ती हो । २ सातादेखि दुवै छेउ छेउमा आफैं पाखा लागेर बसेको गिट्टी अझै नउठाएर चरम लापरवाही गरेको देखिन्छ ।’– उनले भनें । यसअघि स्कुटर दुर्घटनामै उनको सोही खुट्टाको गोलीगाँठोको भाग भाँच्चिएको थियो । जिरिखिम्ती र पथरी चोक पूर्वको खण्डमा २ साता अघि त्यसखाले गिट्टी हालिएको थियो । त्यो बेला लगातार वर्षा भइरहेकाले गिट्टी टाँसिएन पनि । जसले गर्दा सडकमा हालेको सवै गिट्टी दुवैतर्फ किनार लाग्दा यात्रुका लागि ज्यादै जोखिम बनेको छ । साइकल, मोटरसाईकल र साना यातायातका साधनहरु त्यसबाट समस्यामा छन् । कानेपोखरी क्षेत्रतर्फ यसबेला त्यस्तै गिट्टी पुनः थप्न थालिएपछि समस्या पनि थपिएको छ । यसअघि पनि यसखाले गिट्टीका कारण लायन्स क्लब अफ पथरीका पूर्व अध्यक्ष वीरबहादुर घिमिरे दुर्घटनामा परेका थिए । ०७४ चैत ५ गते कानेपोखरी पश्चिममा त्यसखाले गिट्टीमा चिप्लिएर बा.१५ च ६४१५ नम्वरको कार दुर्घटना भएको थियो । सडकको उत्तरतर्फ रुखमा पुगेर कार ठोक्किदा घिमिरे त सामान्य घाइते मात्र भए, तर कार कुच्चिएर बनाउन १५ लाख रुपैयाँ खर्च लाग्यो । ‘गाडी मर्मत गर्ने ठाउँमा पनि यही गिट्टीबाट दुर्घटना भएका गाडीको संख्या धेरै देखिएको छ ।’ उनी भन्छन् ‘दिनमा २,४ वटा मोटरसाइकल त लडेकै छन् ।’ त्यसखाले गिट्टी सडकमा विछ्याएपछि यातायातका साधन गुडेको बेला चक्काले गिट्टी उछिट्याएर अर्काेखाले जोखिम हुने गरेको छ । यातायातका ठूला साधनले उछिट्याएको गिट्टीले मोटरसाइकल, साइकलमा यात्रा गर्ने मात्र नभएर पैदल यात्रुलाई पनि लाग्ने गरेको छ । अर्कातर्फ यातायातका साधनले उछिट्याएको गिट्टी अर्काे यातायातको साधनमा लागेर सिसा नै फुटेको अवस्था पनि छ । पथरीशनिश्चरे नगरपालिका कार्यालयको को. १ झ. ५१४ नम्वरको बोलेरो जिपको अगाडिको सिसा गिट्टीले लागेर चर्किएको बताउँदै चालक इन्द्र खतिवडा गत वर्षदेखि यसखाले गिट्टीले दुःख दिँदै आएको प्रसंग ल्याउँछन् । ‘गिट्टीले लागेर अस्ति एक ठाउँ चर्किएको थियो, आज अर्काे ठाउँ पनि सिसा चर्कियो । ’– उनले बुधवार ब्लाष्टसंग भने । इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल बजगाईं पनि सडकको गिट्टीले दुर्घटना बढाएको ट्राफिकबाट जानकारी आएको बताउँछन् । वर्षाको समय सडक निर्माण र मर्मतका लागि अनुपयुक्त समय हो । कालोपत्रेका लागि पानी सवैभन्दा ठूलो शत्रु हो । तर वर्षाकै समयमा काम सक्ने हतारोमा हालिएको गिट्टी टाँसिएको अवस्था छैन । अर्कातर्फ, वर्षाको कारण देखाउँदै सडक कर्मचारीले पनि छेउलागेको गिट्टी नउठाउँदा समस्या भएको छ । सो सडकखण्डमा देव एण्ड सायर रमन भूमी जेभीले ‘सर्फेस ड्रेसिङ’ को ठेक्का लिएको हो । तर यसबेला कामै रोकिएको र गिट्टीबाट दुर्घटना बढेको सम्वन्धमा सडक डिभिजन कार्यालय मोरङका प्रमुख जितेन्द्रकुमार चौधरीसंग सम्पर्क गर्दा आफुलाई त्यसबारे जानकारी नभएको जनाए । उनले भने ‘के भाको रछ म बुझ्छु । गिट्टी नउठाएर दुर्घटना भएको रहेछ भनें तत्काल गिट्टी उठाउन लगाउँछु ।’