पथरीशनिश्चरे । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले भूटानी प्रभावित क्षेत्रका रुपमा रहेका झापा र मोरङका वस्तीमा करोडौंको सहयोग पुर्याएको छ ।

उसले भूटानी शरणार्थी प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, सडक सहितका भौतिक पूर्वाधार तथा प्राविधिक र सचेतनामा सहयोग पुर्याएको छ ।

यस क्रममा युएनएचसीआरले आम्दा अस्पतालमार्फत सन् २०१६ र २०१७ मा जिल्ला अस्पताल झापा, जिल्ला अस्पताल मोरङ, दमक अस्पताल, उर्लावारी मंगलवारे अस्पताल, दमक आमचोक स्वास्थ्य चौकी र पथरी स्वास्थ्य चौकीका लागि आवश्यकीय सामग्री प्रदान गरेर सहयोग पुर्याएको छ । विहीवार सो बारे जानकारी गराउँदै युएनएचसीआर दमक कार्यालयले ती क्षेत्रका स्वास्थ्यसंस्था प्रमुख तथा नगरपालिका प्रतिनिधिहरुसंग आफुहरुले गरेको सहयोगको विवरणको कागज प्रदान गरेको छ । दमक अस्पताललाई ८४ लाख, मंगलवारे अस्पतालमा ३० लाख बढी, जिल्ला अस्पताल झापालाई १० लाख, जिल्ला अस्पताल मोरङलाई ५९ लाख रुपैयाँका अस्पतालजन्य सामग्री प्रदान भएको छ ।

सो क्रममा बोल्दै पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला र स्वास्थ्य संयोजक मुरारी आचार्यले भूटानी शरणार्थी प्रभावित रहेको आफ्नो नगरमा स्वास्थ्यमा थप सहयोग पुर्याउन आग्रह गरेका छन् । सन् २०१६ र २०१७ मा गरी पथरीशनिश्चरे स्वास्थ्य चौकीका लागि रेफ्रिजेरेटर सहित ६ लाख बढीको सामग्री प्रदान भएको छ । साथै दमक, मंगलवारे र आमचोक स्वास्थ्य निकायका प्रमुखहरुले पनि सहयोग निरन्तर जारी रहनु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा, युएनएचसीआर दमक फिल्ड अफिस प्रमुख आना फेलोसीले आपसी सहकार्यमा शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रका मानिसहरुको स्वास्थ्य सहितका क्षेत्रमा काम हुँदै आएको वताइन् । युएनएचसीआरले सकेको सहयोग पुर्याउँदै जाने पनि उल्लेख गरिन् ।

सौर्य सडक वत्ती हस्तान्तरण

सहयोगकै क्रममा, युएनएचसीआरले पथरीशनिश्चरे १० स्थित भूटानी शरणार्थीका लागि जडान गरेको सौर्य सडक वत्ती नजिकको वस्तीका लागि पनि विस्तार गरी स्थानीयस्तरमा हस्तान्तरण गरेको छ ।

युएनएचसीआर दमकले आइकेय फाउन्डेशनको आर्थिक सहयोगमा लुथरन विश्व फेडेरेशनमार्फत जडान गरेको सौर्य सडक वत्ती एक वुधवार कार्यक्रमका बीच नगरपालिकालाई हस्तान्तरण गरेको हो । युएनएचसीआर दमक प्रमुख आना फेलोसी, लृुथरनका पूर्वाञ्चल प्रमुख राजेन्द्र राउत सहितले नगर प्रमुख दिलीपकुमार राई, सौर्य उर्जा उपभोग समितिका अध्यक्ष प्रेम ढकाल सहितलाई सञ्चालन, हेरविचार तथा व्यवस्थित उपभोगका लागि आवश्यक कागजात, सामग्री सहित सडक वत्तीको कार्यक्रम हस्तान्तरण गरेका छन् । युएनएचसीआरले कार्यक्रममा ४ जना तालिमप्राप्त प्राविधिकलाई दुतका रुपमा हस्तान्तरण समेत गरेको छ । उनीहरुका लागि आवश्यक प्राविधिक सामग्री समेत हस्तान्तरण भएको छ ।

सडक वत्तीको कार्यक्रम ग्रहणपछि बोल्दै नगर प्रमुख राईले यसखाले सडक वत्तीले नगरलाई उज्यालो नगर वनाउने क्रममा ठूलो सहयोग पुगेको भन्दै आभार व्यक्त गरेका छन् ।

युएनएचसीआर दमक प्रमुख आना फेलोसीले युएनएचसीआर, नगरपालिका र स्थानीय नेपालीको ठूलो सहयोगमा शरणार्थीहरुमा राहत मिलेको जनाइन् । उनले स्थानीयवासी र शरणार्थीको सद्भाव र सहकार्य जारी रहोस् भन्ने शुभकामना समेत दिइन् ।

सन् २०१६ मा २२ वटा शिविर भित्र जडान भएको थियो । २०१७ थप २२ वटा जडान गरी वस्तीतर्फ समेत पुर्याइको थियो । नयाँ मंगलवारे डाँडातर्फ जाने गान्धीमनमोहन मार्गमा शिविरको सिरानदेखि १ हजार ५ सय ४० मिटर क्षेत्रमा २५ लाखको लागतमा ४४ वटा सौर्य सडक वत्ती जडान भएका छन् । नगरपालिका र स्थानीय उपभोक्ताको सहकार्यमा त्यसको मर्मत संहार गरिने हस्तान्तरित पत्रमा उल्लेख छ । ५ वर्षपछि मर्मत तथा ब्याट्ी फेर्दा ५ लाख ६१ हजार रुपैयाँको खर्च आउने लुथरनले अनुमान समेत पेश गरेको छ । स्थानीय र शरणार्थी सम्मिलित सौर्य उर्जा उपभोग समिति बनाइ कार्यविधि समेत तयार गरिएको छ ।

तेस्रो मुलुक पुनर्वास कार्यक्रमले शिविरमा शरणार्थीको संख्या न्यून रहेपछि आफ्ना कार्यक्रमहरु कटौती गर्दै जाने क्रममा युएनएचसीआरले स्थानीयमार्फत वत्ती सञ्चालनको जिम्मेवारी दिएको छ ।