भद्रपुर । वडा प्रहरी कार्यालय भद्रपुरले एकसय एक थान लागू औषधसहित दुइ जनालाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध बोकेर नेपाल आउदै गरेको अवस्थामा भद्रपुर ५ मेचीपुल प्रहरी चेकपोष्टबाट शनिबार अपरान्ह् ४ बजे मानिससहित लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा खोटाङ् हलेसी गाउँपालिका ८ घर भई हाल भद्रपुर ७ गार्भेन्ट चोक बस्दै आएका २१ बर्षिय राजु केसी रहेको जिल्लाका डिएसपी जितेन्द्र कुमार बस्नेतले जनाए । शङ्का लागेर चेकजाँच गर्दा शरिरमा लुकाइ राखेको लुपिजेसिक ४६ एम्पुल,फेनारगन ४५ एम्पुल, डाइजेपाम ४६ एम्पुल,नाइट्रोजन १० ट्याब्लेट र १० ग्राम गाँजा बरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिए । मानिस र बरामद सामग्रीलाई आवश्यक कार्वाहीको लागि जिल्ला पठाइएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए ।
त्यसैगरि दुइदिन अघि ४सय ग्राम गाँजा र मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर ९ घोडामाराका २६ बर्षिय नरेन राजवंशीलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ । भद्रपुर ६ स्थित जनता चोकबाट मे ९ प ७१२१ नम्बरको मोटरसाइकल सहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै ३० हजार मूल्य बरावरको ५६ थान कपडा समेत प्रहरीले बरामद गरेको जनाएको छ । तस्करी हुने गरेको विषयमा समाचार सार्वजानिक भएपछि प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ ।