धरान । आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले प्रविधिमा आधारित प्रहरी निर्माणको अभियानमा १ नम्बर प्रदेश अघि बढेको बताएका छन् । मन्त्री कार्कीले १४ जिल्लाका ७४ ठाउँमा सीसी क्यामेरा जडान गर्ने बताए । पूर्व काँकडभिट्टादेखि पश्चिम सीमा कोशी ब्यारेजसम्मको भूभाग सीसी टीभी क्यामेराको प्रत्यक्ष निगरानी रहने बताए । उनले सोका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको स्पष्ट पारे । प्रदेशलाई आवश्यक ३० हजार प्रहरीमा हाल ११ हजारको सङ्ख्यामा मात्र उपलब्ध रहेकाले सङ्घीय कानुनअनुसार प्रहरी दरबन्दी थप्न नसकिने भएकाले प्रविधिमा आधारित प्रहरी बनाउने प्रदेशको योजना रहेको सुनाए । शनिबार प्रेस चौतारी नेपाल तथा प्रेस सेन्टर सुनसरीको आयोजनामा मनमाया गोपाल कार्की स्मृति पुरस्कार र डम्बरबहादुर थापा स्मृति पुरस्कार वितरण गर्न धरान आएका मन्त्री कार्कीले अभियान झापाबाट सुरु भएको जनाए । उनले आगामी तीन वर्षको अवधिमा प्रदेश प्रहरीलाई प्रविधिमा आधारित बनाइसक्ने उल्लेख गरे ।

प्रदेशको चुनौती लागुऔषध मन्त्री कार्कीले प्रदेशको समस्या लागु औषध दुव्र्यसन भएकाले अब युवालाई समाज निर्माणको अभियानमा सहभागी गराउने बताए । मन्त्री कार्कीले युवालाई सामाजिक उत्तरदायित्वको जिम्मा दिए कुलत र विसङ्गतमा नफस्ने विश्वास व्यक्त गरे । मन्त्री कार्कीले प्रदेशभरिका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर ‘सगरमाथा टिनएज क्लब’ निर्माण गरी सामाजिक कार्यमा सहभागी गराइने बताए । ‘यो अभियानमा सबै प्रदेशवासीलाई सहभागी बन्न अनुरोध गर्छु ।’ मन्त्री कार्कीले भने ।

चार पत्रकार पुरस्कृत विगत ७ वर्षअघिदेखि सिर्जनशील पत्रकारलाई प्रदान गर्दै आएको मनमाया गोपाल कार्की सिर्जनशील पत्रकारिता पुरस्कारबाट सुनसरीका ३ पत्रकार पुरस्कृत भएका छन् । ०७४ सालका लागि नागरिक दैनिकका धरान संवाददाता रोहित राई र ०७५ सालका लागि औजार दैनिकका रणध्वज लोहार र सप्तकोशी एफएमकी रोमा पराजुलीलाई पुरस्कार प्रदान गरिएको छ । ब्लाष्ट दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशोरकुमार कार्कीलगायत परिवारबाट स्थापना गरिएको सिर्जनशील पत्रकारिता पुरस्कारको राशि जनही नगद ८ हजार पाँच रुपैयाँ रहेको छ । पत्रकारलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले पुरस्कार प्रदान गरे । यस्तै डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कारबाट ब्लाष्ट दैनिकका इनरुवा संवाददाता राजन निरौला पुरस्कृत भएका छन् । निरौलालाई मन्त्री कार्कीले पुरस्कार प्रदान गरे । सुनसरीका दिवंगत पत्रकार डम्बरबहादुर थापाको स्मृतिमा पत्रकार विश्वमणि सुवेदीले ‘पत्रकारिता पुरस्कार’ स्थापना गरिदिएका हुन् । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको छ ।