रंगेली । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुई तिहाईको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् । विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए । “दुई तिहाईको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ,” नेता सिटौलाले भने, “सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् । अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।” उनले प्रजातन्त्रका लागि २००७ सालदेखि लड्दै आएको कांग्रेसलाई कमजोर नठान्न कम्युनिष्ट सरकारलाई चेतावनीसमेत दिए । सरकारले संविधान र कानुनलाई गलत प्रयोग गरिरहेको उनको भनाइ थियो । समृद्धिको नारा कुनै पार्टी विशेषको नभएको उनको भनाइ थियो । लोकतान्त्रिक मूल्यमान्यतामा रहेर मुलुकको समग्र आर्थिक समृद्धि गर्ने संविधानमै उल्लेख भएको उनले बताए । गठन भएको ६ महिना पनि नबित्दै सरकारप्रति गम्भीर आशंका उब्जिएको उनको कथन थियो । मुलुकको पछिल्लो घटनाक्रमले सरकारप्रति जनताको भरोसासमेत गिर्दै गएको सिटौलाले बताए । उपकुलपतिलाई अगाडि नै विदेश भ्रमण अस्वीकृत भएको जानकारी दिन सकिने उनले बताए । तर, सरकारले दम्भका भरमा अन्य कर्मचारी र प्राज्ञिक क्षेत्रलाई समेत त्रासमा राख्ने खोजेको उनले आरोप लगाए । कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्याल, नेता अशोक कोइराला, सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतले सरकारले गरेका गलत कामका विरुद्ध कांग्रेसले सडक र सदनबाट आन्दोलन थाल्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेसनिकट प्राध्यापक, बुद्धिजीवि, कानुन व्यवसायी, शिक्षक, व्यवसायीलगायतको सहभागिता थियो ।