भद्रपुर । पूर्वी नाका भद्रपुरबाट तस्करी मौलाएको समाचार सार्वजानिक पछि कारोबारीहरुले अन्य जिल्लाबाट तस्करी शुरु गरेको पाइएको छ । पछिल्लो समय भद्रपुरमा प्रहरीको सक्रियता बढेपछि अतालिएका कारोबारीले झापाको उत्तरी क्षेत्र इलामबाट तस्करी शुरु गरेको सार्वजानिक भएको छ । भन्सार छलेर अवैध रुपमा कारोबारीले ल्याउदै गरेको अन्दाजी तीनलाख ६२ हजार मूल्य बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेपछि सो क्षेत्रबाट तस्करी हुने गरेको पुष्टि भएको हो । इलामबाट विर्तामोड तर्फ मे १ ख २४९८ नम्बरको गाडीमा ल्याउदै गरेको कपडा शुक्रबार दिउँसो २ बजे झापाको बुधबारेबाट सशस्त्र प्रहरी गस्ती टोली झापाले बरामद गरेपछि तस्करीको पर्दाफास भएको थियो । बरामद गरिएको सामानमा पर्दाको कपडा,साडी, कुर्ता सरुवाल लगायत रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रेशम कुमार थाक्सूले जानकारी दिए । कपडालाई आवश्यक कार्वाहीका लागि आइतबार मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइने एसपी थाक्सूले जनाए । कपडा इलामका चन्दन सिंघलको भएको एक कारोबारीले बताए । सिंघल चाइनिच सामग्री र भारतीय कपडाको कारोबारी गर्दै आएको व्यापारीलेनै दाबी गरेका छन् । सिंघलले विर्तामोडका व्यापारीलाई सामान दिने गरेको भद्रपुरका एक व्यापारीले बताए । उनि इलाम वाणिज्य सङ्घका पदाधिकारी समेत हुन् ।

आठ घण्टापछि ट्रक छाडियो तस्करीको सामान ओसार पसारमा सम्लग्न ट्रकलाई भने शसस्त्र प्रहरीले सुटुक्क छाडिदिएको छ । शसस्त्र प्रहरीका एसपी थाक्सूलाई ट्रक छाडन चारैतिरबाट दवाव आएपछि नियन्त्रणमा लिएको आठ घण्टापछि छाडिएको प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरीका हवल्दार पदमा कार्यरत प्रहरी कर्मचारीको निगरानीमा ट्रक रहेकोले छाडिएको भद्रपुरका एक कारोबारीले दाबी गरेका छन । पशुपती नगरमा कार्यरत हुँदा घुमुवा प्रहरी भएकाले सिंघल र उनिबीच सम्बन्ध राम्रो भएकोले ट्रक छुटेको अर्का समूहका व्यापारीले आरोप लगाएका छन् । घट्ना विवरण अनुसार गाडीचालक र लेवरसहित प्रहरी गस्ती टोलीले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुर ल्याएका थिए । प्रहरीले गाडीसहित सामान नियन्त्रणमा लिएपछि एक कारोबारी एसपी थाक्सूको निवासमा पुगेका थिए । निवासमा भएको बार्तापछि बरामद गरिएका कपडा प्रहरीले जिम्मा लिएर रातीनै ट्रक छाडिदिएको थियो । एसपी थाक्सू र कारोबारीबीच मिलोमतो भएर ट्रक छाडिएकोमा साना व्यापारीले आपत्ती जनाएका छन् । ‘एक दुइ किलो चिनी र केही थान कपडा प्रहरीले नछोड्ने ठुला ब्यापारीको चै गाडीनै छोड्ने’ भन्दै उनिहरुले आपत्ती जनाएका थिए । ‘सानालाई दुःख दिने ठुलाको खाने’ भन्दै प्रहरीमाथि आरोप लगाएका थिए । भाडाको ट्रक भएको र थोरै सामानमा गाडी नखुलाइएको डिएसपी दिपेन्द्र गिरीले बताए । गरिब मान्छेको गाडी भएकोले अबदेखि यस्तो गरेको भेटिएमा नछाड्ने भन्दै एसपी सरसँग सल्लाह भएर एक पटकको लागि छाडिएको उनले बताए । गाडीमा सामान राखेर कसैले फसाएको उनको भनाई छ । ट्रक छाड्न कुनै दवाव नआएको एसपी थाक्सूले बताए । सामानको मूल्याङ्कनलाई हेरेर ट्रक छाडिएको उनको भनाई छ । थोरै सामानमा लाखौ मूल्यको ट्रक भन्सार पठाउन उचित नलागेर नपठाइएको उनले बताए । कतिपय विषयमा व्यवहारिकत्ता हेर्नु पर्ने उनको भनाई छ । मेरो कसैसँग मिलेमतो नभएको उनले दाबी गरे । गाडीको कुरा लिएर कोही नआएको उनले दाबी गरे ।

हल्ला भएपछि व्यापारीको सामान भन्सार गोदाममानै थन्कियो तस्करीको समाचार सार्वजानिक भइसकेपछि सिलगढीबाट खरिद गरिएका कपडा मेची भन्सार काकडभिट्टा नभइ अनकौ झन्झट गरेर भएपनि भद्रपुर छोटी भन्सारमा ल्याउन शुरु गरेका थिए । व्यापारी र कर्मचारीबीच पचास प्रतिशतमात्र भन्सार राजस्व बुझाउने आन्तरिक सहमती भएपछि सामानलाई भन्सार छिराउन शुरु गरेका थिए । सहमतीको बारेमा समाचार सार्वजानिक भएलगत्तै व्यापारीले थोरै परिमाणमा सामान काटेर बाँकी भन्सारको गोदाममानै राखेका छन् । भन्सारमा सहज परिस्थिती नबनेसम्म केही कारोबारीले इलामबाट कारोबारलाई निरन्तरता दिएको कारोबारीले नै बताएका छन् । चाडपर्व आउदै गरेको र छोटी भन्सार पनि आर्थिक बर्ष देखि मुल भन्सार हुने भएकोले भद्रपुरका व्यापारी छटपटाइ रहेको पुराना एक कारोबारीले बताए ।