पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवनको आइतबार शिलान्यास भएको छ ।
फिदिम–१, शनिबारेमा निर्माण गर्न लागिएको भवनको प्रदेश–१ का अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबो (मौसम) ले शिलान्यास गरे ।
महासंघ पाँचथर शाखाको भवन निर्माणका लागि प्रदेश सरकारले ५० लाख रकम बिनियोजन गरेको छ । भवन शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री आङबोले यहीं वर्षभित्र भवन निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै अपुग रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुलुकको समृद्धिका लागि प्रतिपक्षलाई समेत साथै लिएर सरकार अघि बढ्न चाहेको उल्लेख गर्दै मन्त्री आङबोले रचनात्मक प्रतिपक्षको भूमिका निर्बाह गर्न प्रतिपक्षिलाई आग्रह गरे ।
उनले हिजो दलहरु मिलेर अघि बढेकाले नै यतिसम्मको परिवर्तन सम्भव भएको भन्दै अब समृद्धि प्राप्तीका लागि पनि एक भएर अघि बढ्नुपर्ने बिचार व्यक्त गरे । नेकपाका केन्द्रीय सदस्य समेत रहेका आङबोले फरक प्रशंगमा बोल्दै केही तत्वहरुबाट नेकपाको एकिकरणलाई कमजोर बनाउँने र सरकारलाई बद्नाम गर्ने खेल भइरहेको बताए । उनले भने– ‘तर त्यसको हामी डटेर सामना गर्नेछौं ।’
आङबोले चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा.गोविन्द केसी असल मानिस भएको उल्लेख गर्दै इमानदारपूर्वक आफ्नो काममा फर्कन आग्रह गरे । मेडिकल कलेज कहाँ राख्ने, कहाँ नराख्ने भन्ने सरकारले निर्णय गर्ने र त्यसबारे ऐन संसदले बनाउँने कुरा भएकाले एउटा व्यक्ति अनसन बसेर समाधान ननिस्कने उनले स्पष्ट पारे । नेपाल सरकारको एकजना कर्मचारी अनशन बस्दा सरकारले घुँडा टेक्ने कुराको कल्पना पनि गर्न नसिकिने आङबोको भनाई थियो ।
लामो समयसम्मको प्रयास पछि पत्रकार महासंघ पाँचथर शाखाको भवनको शिलान्यास भएको हो । बैठक हल, सभा हल, कार्यालय, सूचना केन्द्र सहितको भवन यहीं वर्षभित्र निर्माण सम्पन्न गरिने महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाले बताए । भवन शिलान्यास कार्यक्रमकै अवशरमा आङबोलाई किरात याक्थुङ चुम्लुङ पाँचथरले हाङजाम लगाइदिएर सम्मान गरेको छ ।