पथरीशनिश्चरे । झापाको दमक नगरपालिकाले फरक फरक विशेषताका रुपमा वडाको प्रवद्र्धन गरिने प्रकारको नयाँखाले योजना अघि सारेको छ ।

तेस्रो नगर सभाबाट आर्थिक वर्ष ०७५÷७६ का लागि पारित गरेको नीति, कार्यक्रम तथा बजेटमा त्यसखाले योजना रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । हालै नगरसभाले पारित गरेको १ अर्व २२ करोड ९६ लाख ८९ हजार १ सय १५ रुपयाँको बजेट तथा नीति कार्यक्रमको बारेमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै नगर प्रमुख रोमनाथ ओलीले प्रत्येक वडालाई फरक फरक विशेषताका हिसावले प्रवद्र्धन गरिने सुनाए । उनले वडाको हालको अवस्था, भौगोलिक अवस्था, त्यहाँका मानिसहरुको रुची, लगाव सहितका आधारमा वडागत विशेषताको योजना बनेको उल्लेख गरे ।

१० वटा वडा रहेको नगरमा १ नम्वर वडालाई ढाका बुनाईका हिसावले चिनाउने योजना छ । २ लाई फलफुल र पुष्पका हिसावले चिनाइने योजना हो । ३ मा संसारको अग्लो बुद्धमूर्तीको प्रतिमा बन्दै गरेको छ । त्यहाँ सहीद बन वाटिका पनि बन्दैछ । सो क्षेत्रलाई समग्ररुपमा पर्यटकीय क्षेत्रको विकासमा जोड दिने उल्लेख छ । नेपालको पुरानो एवम् ऐतिहासिक हिमालय गुडरिक चिया वगान क्षेत्रमा पर्ने वडा नम्वर ४ र ९ लाई चिया वगान प्रवद्र्धन सहितको वगान सुन्दरताले चिनाउने योजना बनाइएको छ । ६ लाई दौराससुरुवाल सिलाई, ८ लाई अचार उत्पादन क्षेत्र र कृषियोग्य जमिनका रुपमा रहेको ग्रामिण वस्तीमा पर्ने १० नम्वरलाई कृषि प्रवद्र्धन क्षेत्रका रुपमा विकास गरिने भएको छ । ५ र ७ नम्वर वडाको भनें त्यस्तो फरक विशेषता झल्काउने कार्यक्रम बनेको छैन । ‘वडागत सिलिङ बजेट अन्तर्गत यसखाले विशेषतालाई झल्काउन बजेट विनियोजन गरिएको छ । केही ठाउँमा नगरले समेत गर्नेछ ।’– नगर प्रमुख ओलीले भने ‘ती विशेषता प्रवद्र्धनका कुरालाई प्राथमिकता दिएर क्रमशः प्रवद्र्धनका योजनाहरु वर्षेनी सञ्चालन गर्दै लगिने छ ।’ केही साना उद्योग समेत खोलिने उनले खुलाए । नगरको पहिलो नागरिक धिमाल जातिलाई उनीहरुको शीप प्रवद्र्धन गर्दै आयमुलक काममा जोड दिने निर्णय भएको छ । धिमाल समुदायका लागि १५ लाख हाराहारीमा तालिम समेतमा बजेट विनियोजित भएको छ ।

पत्रकार सम्मेलनमा नगर प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीबाट वार्षिक बजेट नीति तथा कार्यक्रमको संछिप्त प्रस्तुति गरेकी छन् ।

विरामी परेका शरणार्थी डाक्टरलाई साढे १२ लाख सहयाेग

कार्यक्रममा, नगर प्रमुख ओली, उपप्रमुख अधिकारी सहितले भूटानी शरणार्थीहरुलाई निःशुल्क स्वास्थ्य उपचारमा अहोरात्र खटेका तर आफ्नै उपचार समस्या भएका भूटानी डा. भम्पा राईलाई सहयोग गरेका छन् । आन्द्रामा समस्या भएका भम्पा र दुवै मृगौला खराव भएकी उनकी श्रीमती उर्मिला समेतको उपचारमा नगरपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ । स्वदेश फिर्तीको आशा संगालेर दमकमा बसेका उनीहरुको उपचारका लागि प्रधानमन्त्री कार्यालयवाट १० लाख, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा उपलब्ध गराएको १ लाख रुपैयाँ प्रधानमन्त्री कार्यालयका युवराज दाहालले हस्तान्तरण गरेका छन् । दम्पत्तीको उपचारका लागि जिल्ला समन्वय समिति झापाबाट १ लाख गरी १२ लाख ५० हजार रुपैयाँ त्यसखाले निकायबाट जम्मा हुन पुगेको छ ।