मधुमल्ला । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार घनश्याम भण्डारी र तेजन खड्का पुरस्कृत भएका छन् । आइतबार उर्लाबारी नगरपालिकाको दोस्रो नगरसभाको अवसरमा भण्डारी र खड्का पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले सम्मान पत्रसहित दोसल्ला ओढाएर पुरस्कृत उनीहरुलाई पुरस्कृत गरेका छन् ।

दुई दशकदेखि पत्रकारिता क्षेत्रका क्रियाशिल भण्डारीलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । भण्डारीलाई सम्मान पत्र, दोसल्ला र नगद १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरियो । २०५४ सालमा तेस्रो विश्व साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका भण्डारी पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । क्लबको हाल सल्लाहकारसमेत भण्डारी उर्लाबारी पेजका सम्पादक र पूर्वज्योति साप्ताहिकका सह–सम्पादक हुन् । त्यस्तै, विवेचना दैनिकका समाचारदाता खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । खड्कालाई सम्मान पत्र, दोसल्ला र नगद ११ हजार १ सय ५१ रुपैयाँ प्रदान गरियो । पुरस्कार वितरण कार्यक्रममा विविध कारणले पत्रकार खड्का उपस्थित हुन नसकेपछि सो पुरस्कार सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतमार्फत हस्तान्तरण गरियो ।

२०६५ सालदेखि पत्रकारितामा सक्रिय खड्का परोपकारी पत्रकारितामा पनि सक्रिय छन् । खड्का सञ्चार क्लब नेपालका पूर्व सचिब हुन् । उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सत्यतथ्य समाचार प्रकाशन गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गरे । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनु पर्नेमा जोड दिँदै प्रमुख फागोले नगरपालिकाले गरेका सकारात्मक र नकारात्मक गतिबिधिहरुलाई प्राथमिकता साथ जनतामाझ पुर्याउन आग्रह समेत गरे । त्यस्तै, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतले नगरपालिकासँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

त्यस्तै, पुरस्कृत पत्रकार घनश्याम भण्डारीले खुशी प्रकट गर्दै जिम्मेवारी बढेको महशुस भएको बताए । पत्रकारिता क्षेत्रमा थप क्रियाशिल भएर लागि पर्ने उनको भनाई छ ।