रंगेली । विराटनगर महानगरपालीकाका सडकमा साप्ताहिकरुपमा लाग्दै आएको हाटबजारलाई व्यवस्थित बनाउने अभियान वार्ड नं ४ बाट शुरु गरिएको छ । कञ्चनबारी चोक पश्चिम नोबेल मेडिकल कलेज जाने सडकमा शुक्रबार हाट लाग्दै आएको थियो । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतबार देखी शुरु भएको छ । व्यवस्थित बजारका लागि सडको छेउमा रहेको झण्डै १ बिगाहा जमिनलाई ३ लेनमा विभाजन गर्ने र प्रत्येक व्यपारिलाई २ मिटरको दरले चिन्ह लाएर प्रदान गर्ने वार्ड नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए ।उनले भने ‘सडकमा अबरोध पुग्ने गरी अब कसैले पनि हटिया लाउन पाउने छैनन् ।’ सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षहरुलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् । प्रत्येक वडाका विभिन्न स्थानमा लाग्ने हटियाहरु सडकमै लाग्ने गरेका थिए । अव भने सडक भन्दा बाहिरको खालि भाग या उपयुक्त स्थानमा हटिया लाउने अभियानमा वडाध्यक्षहरु जुटेका छन् ।