विराटनगर । गत वर्षमा आएको बाढीमा क्षति बेहोरेका विराटनगर–२ का बाढीपीडितले राहत नपाएको भन्दै विराटनगर महानगरपालिकामा घेराउ गरि धर्ना दिएका छन् ।
एक वर्ष बितिसक्दा पनि राहत नपाएपछि बाढीपीडितहरु भेला भएर सोमबार महानगरपालिका घेराउ गरि धर्ना दिएका हुन् । राहत नपाएका बालबालिका, महिला सहित युवाहरुको समुहले महानगरपालिकामा धर्ना दिएका थिए । सिंघीया खोलामा आएको बाढीका कारण क्षति बेहोरेका तीनपैनी, पुर्वटोलका सुकुम्बासी परिवारले विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्कीलाई भेटेर आफ्ना समस्या राखेका छन् । बाढी आएको बर्षदिन बित्न लाग्दा पनि राहत पाउन नसकेका कारण धेरै परिवार अझैपनि पालमुनि नै बस्नुपरेको उनिहरुले गुनासो गरेका थिए ।
सो बिषयमा वडानम्बर २ को कार्यालयमा पटकपटक गुनासो लिएर जाँदा पनि वडाध्यक्षले सुनवाई नगरेको उनिहरुको भनाई छ ।
बाढी पीडित पुर्ण थापाले छिट्टै राहतको ब्यवस्था नगरिए वडा कार्यालयमा तालाबन्दी गरेर आन्दोलन थाल्ने चेतावनी दिएका छन् । गतबर्ष आएको बाढीमा तीनपैनी पुर्वटोलमा ३ सय ८० परिवार प्रभावित भएकोमा १ सय परिवारले पुर्ण क्षति बेहोरेको बाढी पीडितहरुले जानकारी दिएका छन् ।