विर्तामोड । विवाहित महिलाहरुले सञ्चालन गरेको बुहारी समूह (म्यारिड वोमन सर्कल) नामक फेसबुक समूह झापाले एक शिशुलाई उपचारका लागि नगद ४९ हजार रुपैयाँ आर्र्थिक सहयोग गरेको छ । नसामा पलाएको ट्युमरका कारण जीवन–मरणको दोसाँधमा पुगेका शिशुको सफल अप्रेशन भए पनि अस्पतालको शुल्क बुझाउन नसकी छट्पटाइरहेका बाबुआमालाई फेसबुकको बुहारी समूहले आर्थिक सहयोग गरेको हो । रविना र मनकुमार राजवंशीका छोरा जन्मेको चार दिनमै नसामा ट्युमर देखापरेपछि विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा शिशुको अप्रेशन गरिएको थियो । अप्रेशन भए पनि अस्पतालमा बुझाउनु पर्ने रकम बुझाउन नसकेर आत्तिएका शिशुका बाबुले सबैसँग सहयोगको अपिल गरेका थिए । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारको बिल भर्न नसक्दा शिशुको डिस्चार्ज नभएको कुरा बुहारी समूहले थाहा पाएपछि शिशुका बाबु मनकुमारलाई नगद ४९ हजार रुपैयाँको चेक अस्पतालमा पुगेर हस्तान्तरण गरेको थियो । गत २०७४ जेठ ११ गते गठन भएको विवाहित महिलाहरुको सो समूह महिलाहरुलाई आत्मनिर्भर बनाउँदै विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्नै मुख्य उद्देश्य रहेको भए पनि समूहले छोटो अवधिमा विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक सहयोग गरेर सामाजिक तथा मानवीय क्षेत्रमा उदाहरणीय कार्य गर्र्दै आएको छ । समूहले खुशी चाइल्ड केयर सेन्टरका बालबालिकालाई खाद्यान्न, काठमाडौंकी मृगौला रोगी लक्ष्मी रानालाई नगद १० हजार आर्थिक सहयोग, ब्लड क्यान्सर पीडित सवनम खातुनलाई नगद ४० हजार आर्थिक सहयोग लगायत तराईका बाढी पीडितलाई नगद ३० हजार सहयोग गरेको समूहकी राधा आचार्य बस्नेतले बताइन् । समूहमा देश तथा विदेशका गरी करिब ६ हजार विवाहित महिलाहरु सहभागी रहेका छन् । बुहारी समूहमा राधा आचार्य बस्नेत, इन्दिरा आचार्य, रविना शर्मा, आरती पनेरु, उर्मिला गौतम, ग्रीष्मा खरेल, वन्दना दाहाल, आशिका दाहाल र नीशा गजुरेल लगायत रहेको समूहकी एड्मिन प्रभा आचार्यले बताइन् ।