पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ मा निर्माण सुरु भएको ८ वर्षपछि मात्र स्वास्थ्य चौकी भवन सम्पन्न भएको छ ।
१४ महिनामा सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदार पक्षको लापरवाहीका कारण ८ वर्षमा मात्र निर्माण सम्पन्न भई बिहीबार भवन हस्तान्तरण भएको छ । शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय मोरङका डिभिजन इन्जिनियर श्यामकिशोर सिंहले स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदेन अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंलाई भवन सम्पन्नताको कागजात हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै डीई सिंहले एमके निर्माण सेवा बबरमहल काठमाडौंले १४ महिनामा सम्पन्न गर्नुपर्ने भवन ८ वर्ष लगाएर मात्र सम्पन्न गरेकोमा १० प्रतिशत हर्जना गराइएको उल्लेख गरेका छन् । साथै उनले भवन निर्माणको १ वर्षसम्म कुनैपनि मर्मतसंहारको काम गर्नुपर्ने देखिएमा त्यसका लागि निर्माण कम्पनीको ५ प्रतिशत अर्थात ५ लाख रुपैयाँ धरौटी डिभिजन कार्यालयले यथावत राखिरहेको पनि जनाए । १ करोड ४० लाखको स्टिमेट बनेकोमा कम रकम कबोल गरी १ करोड १२ लाखमा एमके निर्माण सेवाले ठेक्का लिएपछि ०६७ जेठ १९ गते भवनको शिलान्यास भएको थियो ।
१ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई, नगरपालिका प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितका जनप्रतिनिधि तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, स्वास्थ्य संयोजक मुरारी आचार्य, जग्गादाताहरु लगायतको उपस्थितीमा हस्तान्तरण कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख राईले ढिलै भएपनि भवन हस्तान्तरण भएपछि स्वास्थ्य चौकीले सञ्चालन गर्ने प्रसुती केन्द्र सहितका सेवाहरुमा सहजता हुने जनाए । स्थानीय दाताहरुले हालको मुल्यमा ४ करोड रुपैयाँ पर्ने १२ कठ्ठा जग्गा दान गरेपछि त्यहाँ भवन निर्माण भएको हो । यस अघि स्वास्थ्य चौकी भवन निर्माणका लागि हालका जग्गा खोजबीन समिति संयोजक बाबुराम राईले ३ कठ्ठा, सुनेहाङ सवेहाङले ३ कठ्ठा, घनश्याम गिरी, श्रीनारायण ढकाल, केशवप्रसाद दहाल र जद्धु शाहले १/१ कठ्ठा गरी १० कठ्ठा जग्गा स्वास्थ्य चौकीलाई रजिस्ट्रेशन गरिदिएका थिए । होमबहादुर गुरुङ, छबिलाल अधिकारी, मानबहादुर थापामगर, यज्ञप्रसाद ढुंगेल र टेकबहादुर गुरुङले समेत १०/१० धुर जग्गा दिने सहमति गरेका थिए । सोही भवनसंग नजिक पर्ने ठाउँमा दाताहरुले थप जग्गा व्यवस्थापन गरेपछि एमवीवीएस डाक्टर सहितको अस्पताल निर्माणको योजनाको प्रक्रिया पनि अघि बढेको छ ।