बेलबारी । जिल्ला सरकारी वकिल कार्यालय मोरङ र उच्च अदालत मोरङले बुधबार बेलबारी नगरपालिकामा समुदायमा सरहकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम राखेर नगरका जनप्रतिनिधि तथा नागरिकसँग छलफल गरेका छन् ।

मुद्दाका प्रकृति, पीडितले उजुरी गर्ने र न्याय पाउने तरिकाको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा बालिका बलात्कार, घरेलु हिंसा, सम्बन्धविच्छेद र बहुविवाहजस्ता मुद्दाहरुमा केन्द्रित रहेर छलफल भएको थियो । कार्यक्रममा सहभागीले बहुविवाह सम्बन्धि कस्तो नीति आउँछ भन्ने राखेको सवालमा उच्च अदालतका अधिवक्ता चिरञ्जीवी पराजुलीले विद्यमान कानुनले बहुविवाहको सन्दर्भमा विवाह गरेर आउने कान्छी श्रीमतीलाई श्रीमतीको अधिकार दिलाउँदै आएको छ भने अब आउने कानुनले कान्छी श्रीमतीलाई श्रीमतीको रुपमा मान्यता नदिने प्रष्ट पारेका छन् ।

आगामी भदौदेखि लागू हुने कानुनअनुसार अब कान्छी श्रीमती भनेर विवाह नै दर्ता नहुने अधिवक्ता पराजुलीले बताए । हिजोको परिस्थिति जस्तो कान्छी श्रीमती भएर आएपछि हक खाने प्रावाधन हटाइएको बताए । कार्यक्रममा निषेधाज्ञा, प्रहरी अनुसन्धान, वैकल्पिक वकिलको विषयमा परिचर्चा गरिएको थियो भने सरकारी वकिलको भूमिका बारे नागरिकहरुलाई सचेतना गराइएको थियो ।

बेलबारी नगरपालिकाका जनप्रतिनिधि, नागरिक समाज, सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा कार्यपालिका सदस्य खिना थापा, गीता शिवा, केशव ढकाल लगायतले बालिका बलात्कार, घरेलु हिंसालगायतको विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय र उच्च अदालतका अधिवक्ताहरूले उठेका सवालहरु बारे प्रष्ट पारेका थिए । कार्यक्रम नगरका उपमेयर ढाका पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।