उदयपुर। गाईघाट–दिक्तेल सडक निर्माणको कामले त्रियुगा नगरपालिका १५ खाँबु अन्तर्गतको रातमाटे गाउँका तीन घर विस्थापित भएका छन्  । सिङ्गो गाउँ नै पहिरोको जोखिममा परेको छ । पहिरोका कारण स्थानीय वीरबहादुर मगर, खड्गबहादुर मगर र डम्बरबहादुर मगरको परिवार विस्थापित भएको हो । उनीहरु छिकेकीको घरमा शरण लिएर बसेको वडा अध्यक्ष नीरबहादुर मगरले बताए । गाउँका अन्य करिब डेढ दर्जन घर–परिवार पनि पहिरोको जोखिमका कारण राति राम्ररी निदाउन सक्दैनन् । वर्षातको बेला पनि सडकको निर्माण कार्य भइरहेको र सडक खन्दा पहिरो खसेकाले गाउँ जोखिममा रहेको हो । डोजरजस्ता ठूला मेसिनहरु प्रयोग गरेर सडक खनिँदा जमिन थर्की धाजा फाटेर गाउँ नै तान्ने अवस्था भएको पीडितहरुले बताएका छन् । गोल्डेन निर्माण कम्पनीले उक्त ठाउँमा सडकको नाली र मिसनरी वालको काम गरिरहेको छ । कम्पनीले मापदण्ड विपरीत बढी भित्ता काट्ने, पर्खाल होचो लगाउने र बिना सावधानी काम गर्नाले पहिरोको जोखिम बढेको वडाध्यक्ष मगरले बताए । सडक विभाग र विपद व्यवस्थापन समितिले स्थलगत अनुगमन गरी समस्या समाधानको पहल गर्ने मगरले बताए ।