बिर्तामोड । नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका प्रमुख बुद्धि धिमाललाई बिना सूचना लगातार बिजुली काटेको भन्दै बिहीबार उपभोक्ताले ४ घण्टा तातो घाममा उभ्याएर सजाय दिएका छन् । सुरुङ्गाका उपभोक्ताले बिना सूचना बिजुली काटेको भन्दै बिहान ११ बजे विद्युत प्राधिकरणको कार्यालय घेराउ गर्न गएका थिए । कार्यालय पुगेका सयौं सर्वसाधरणलाई प्रहरीले विद्युत प्राधिकरणभित्र प्रवेश गर्नबाट रोकेपछि उनीहरुले विद्युत हाकिमसहित सबै कर्मचारीलाई कार्यकक्षबाट बाहिर घाममा निकालेर दिनभर तातो घाममा उभ्याएर सजाय दिएका हुन् । ‘उनीहरु एसीमा बस्छन् हामी सर्वसाधरणलाई रातदिन लाइन जाँदा कस्तो हुन्छ भन्ने ‘सवक’ सिकाउन हाकिमलाई तातो घाममा राखेका हौं, स्थानीयवासी तथा आन्दोलनकारी मध्येका कवि प्रसाईंले भने । गाउँलेहरुले बिजुली पटकपटक काट्नुको साटो लोडसेडिङ गर्न प्राधिकरणलाई सुझाव दिएका छन् ।

विद्युत प्राधिकरणमा जम्मा भएका सर्वसाधरणले विद्युत आपूर्ति नियमित गर, विद्युत काट्नु पहिले सञ्चारमाध्यममा सुचना गर, लोडसेडिङ मूक्त गर, विद्युतका कारणले बिग्रिएका उपकरणको क्षतिपूर्ति दे, विद्युत काउन्टर व्यवस्थित गर लगायातका नारा लगाउँदै आक्रोसित भिड प्राधिकरण पुगेको थियो । प्राधिकरण घेराउका लागि बिहीबार बिहानैदेखि सुरुङ्गा बजारमा माइकिङ्ग समेत गरिएको थियो । प्राधिकरण घेराउको सूचना प्रसारण गरेपछि विद्युत प्राधिकरण परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।