यासोक । गाउँपालिकाले प्रवाह गर्नुपर्ने सूचना नपाएको भन्दै स्थानीय राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरू कुम्मायक गाउँपालिका पुगेका छन् ।
शुक्रबार गाउँपालिकाको कार्यालय पुगेर उनीहरूले आर्थिक वर्ष २०७४÷७५ मा भइरहेका योजनाका विषयमा सूचना नपाएको गुनासो गरे । नेपालको संविधान २०७२ ले मौलिक हक र कर्तव्यअन्तर्गत धारा २७ मा प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारकारका कुनै पनि विषयको सूचना माग्ने र पाउने व्यवस्था गरेको छ । तर त्यो अधिकारबाट बञ्चित भएको भन्दै स्थानीयले तीनदिन भित्रमा सूचना उपलब्ध गराउन गाउँपालिकासमक्ष निवेदन पेश गरेका छन् ।
गाउँपालिकाको भौतिक पूर्वाधारको क्षेत्रमा के, कसरी काम सञ्चालन भइरहेको छ भन्ने विषयमा सूचना उपलब्ध गराउन गाउँपालिकासमक्ष आग्रह गरे । जवाफमा निवेदन बुझ्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले नागरिको सूचना पाउने नैसर्गिक अधिकारबाट बञ्चित नगरेको बताएका छन् । गाउँपालिकाबाट नागरिकले पाउने सूचनालाई चुस्तदुरुस्त बनाउनका लागि आफूले कुनै कसर बाँकी नराखेको स्पष्ट पारे ।
सूचना माग गर्न नेपाली काङग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातान्त्रिक लगायतका राजनितिक दलका प्रतिनिधिसँगै स्थानीय गाउँपालिका पुगेका थिए ।