रङ्गेली (ब्लाष्ट)  प्रधानमन्त्री केपी ओलीले पाइपबाट घर–घरमा ग्याँस पुर्याउँछु भनेको कुरालाई मजाकका रुपमा लिइरहेको बेला विराटनगरमा भने वास्तविक रुपमै काम सुरु भएको छ । विराटनगर–१४ मा पाइपबाट घर–घरमा ग्याँस पुुर्याउने कार्य अन्तिम चरणमा पुगेको छ । यहाँका उपभोक्ताले केही दिनमै पाइपबाट आएको बायोग्याँसको प्रयोग गरेर खाना पकाउन पाउने छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्री कृष्ण गौशालाका गाईको गोबरबाट चल्ने गरी ३ सय घन मिटरको बायोग्याँस प्लान्ट निर्माणको काम सम्पन्न भएको छ । गौशाला परिसरमै प्लान्टको डोम निर्माण गरिएको छ । डोममा ग्याँस जम्मा गरिन्छ र त्यही ग्याँस पाइलाइनबाट घर–घरमा पुग्छ । त्यसका लागि पाइप बिछ्याउने काम अन्तिम चरणमा छ । डेढवर्ष अघि शुुरु गरिएको प्लान्टबाट सुरुमा ३५ घरमा परीक्षणको रुपमा वितरण गरिदैछ । गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार गौशालामा रहेका २ सय ७ ओटा गाईबाट दैनिक २ हजार केजी गोबर उत्पादन हुने गरेको छ ।