धनकुटा/  दुवै मृगौला फेल भएर उपचाररत धनकुटा पाख्रीवास नपा–२ सान्नेका चुणामणी पुलामी मगरलाई तत्कालिन नेकपा एमाले निकट युवा संघ नेपाल धनकुटाले आर्थिक सहयोग गरेको छ ।

चार महिना अगाडी दुवै मृगौला फेल भई हाल काठमाडौं स्थित ग्रीन सिटी अस्पतालमा डाइलासिस गराई रहेका पाख्रीवास नपा–२ सान्नेका ३४ वर्षीय पुलामी मगरको मृगौला प्रत्यारोपणको लागि युवा संघ नेपाल धनकुटाले ८३ हजार २ सय २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । युवा संघ नेपाल धनकुटाका जिल्ला सदस्य समेत रहेका पुलामी मगरको उपचारको लागि संकलन गरिएको रकम ग्रीन सिटी अस्पतालमा नै गएर प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले विरामी पुलामीलाई सनिवार सहयोग रकम हस्तान्तरण गरेका छन् ।

ग्रीन सिटी अस्पतालमा हप्तामा दुई पटक डाइलासिस गर्दै आएका पुलामी मगरको दुवै मृगौला प्रत्यारोपणको लागि करिब २० लाखको हाराहारीमा रकम आवश्यक रहेको छ । तर तत्कालको लागि एउटा मात्र मृगौला प्रत्यारोपणको तयारी गरिएको विरामीका भाई भुपेन्द्र पुलामी मगरले बताए । उनले भने–“दाजुको मृगौला प्रत्यारोपणको लागि हालसम्म ५ लाख रकम संकलन भईसकेको छ भने बाँकी रकम संकलन हुने क्रम जारी रहेको बताए ।” एउटा मात्र मृगौला प्रत्यारोपण गर्न करिब ८ लाख रकम लाग्ने डाक्टरले बताएको छ । यता युवा संघ नेपाल धनकुटाले आर्थिक सहयोग रकम संकलन अभियानलाई जारी राखेको छ ।

युवा संघ नेपाल धनकुटाका कोषाध्यक्ष एवम् आर्थिक सहयोग समितिका संयोजक मनोज राईले भने–“हामीले चुणामणी पुलामी मगरको मृगौला प्रत्यारोपणको लागि ८३ हजार भन्दा बढी रकम संकलन गरी हस्तान्तरण गरिसकेका छौं । अहिले पनि सहयोग रकम संकलन अभियान जारी छ । संगठनको तर्फबाट सक्दो सहयोग गर्ने योजनामा छौं ।” संकलित रकम विरामीलाई हस्तान्तरण गर्न संयोजक मनोज राई आफै काठमाडौं गएका थिए । आर्थिक अवस्था कमजोर रहेका पुलामी मगरको उपचारमा हालसम्म करिब ६ लाखको हाराहारीमा खर्च भई सकेको छ ।

अब मृगौला प्रत्यारोपण गर्न धेरै रकमको आवश्यकता छ । तर आफुहरुको क्षमताले दाजुको मृगौला प्रत्यारोपण गर्न असम्भव छ । त्यसैले दाजुलाई बचाई दिनको लागि मृगौला प्रत्यारोपण गर्न कुनै संघसंस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा ९८०४४८४०८२, ९८४२२५८४६२ मा सम्पर्क गर्न चुणामणीका भाई भुपेन्द्रले आग्रह गरे । उनी दाजुको उपचारको क्रममा काठमाडौंमा बस्दै आएका छन् । चुणामणीको एक छोरी र श्रीमति रहेको छ ।