विराटनगर । राष्ट्रिय वाणिज्य बैङ्क सुख्खा बन्दरगाहा रानी विराटनगरमा राजस्व बापतको १० करोड रुपैयाँ अपचलन गरेका मुख्य आरोपी भन्सार एजेन्ट सुरेश बोहोरा र उनका प्रतिनिधि ललित बोहोराले १ करोड ५ लाख रुपैयाँ धरौटी बुझाएपछि छाडिएका छन् । मिलेमतोमा बैङ्कमा दाखिला गर्नुपर्ने राजस्व दाखिला नगरी अपचलन गरेको घटना खुलेपछि फरार रहेका बिराटनगर भन्सारका एजेन्ट सुरेश र उनका प्रतिनिधि ललित उच्च अदालत विराटनगरको आदेशबाट धरौटीमा छाडिएका हुन् । करोडौं रुपैयाँ बैङ्कको राजस्व घोटाला गरी माघ २८ गतेदेखि फरार रहेका बोहोराद्वय सुटुक्क अदालतमा हाजिर भएर उच्च अदालत विराटनगरको वाणिज्य इजलासमा आइतबार भएको बयान र बहसपछि सोही दिन नै न्यायाधीश थिरबहादुर कार्की र बालेन्द्र रुपाखेतीको संयुक्त इजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश गरेको थियो । अदालतको आदेशअनुसार एजेन्ट सुरेश ८० लाख र उनका प्रतिनिधि ललितलाई २५ लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा पुर्पक्ष गर्र्ने गरी छाडिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले जानकारी दिए । सुरेशले एनआईसी बैङ्क र ललितले लक्ष्मी बैङ्कलाई धरौटीका लागि ग्यारेन्टी राखेका छन् । यसैगरी राजस्व अपचलन आरोपमा मिलिभगत गरेको आरोपमा पक्राउ परेर अदालतको आदेश अनुसार धरौटी बुझाउन नसक्दा जेल चलान भएका बिराटनगर भन्सार सुख्खा बन्दरगाह काउन्टरका सहायक अधिकृत तोर्ण राउत र शाखा प्रमुख अधिकृत विष्णुप्रसाद निरौलाले जनही ७५ लाख धरौटी बुझाएका छन् । बैङ्किङ कसुर आरोपमा उच्चअदालत विराटनगरले उनीहरुलाई ४ करोड धरौटी माग गरेको थियो । बुझाउन नसकेपछि जेल चलान भएका उनीहरुले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्चले धरौटी कम गरेपछि उनीहरु जेथा जमानी राखेर छाडिएका थिए ।