यासोक । विजुली बाल्नका लागि साँझ–बिहानको छाक काटेर पाँचथरको कुम्मायक गाउँपालिका–५ की भद्रमाया खड्काले दुई वर्षअघि २६ सय रुपैयाँ बुझाइन् । गाँस काटेर बुझाएको रकम दुई वर्ष बित्न लाग्दा पनि विजुली आउनेमा उनी ढुक्क छैनन् । गाउँघरमा विजुली बल्छ भन्ने थाहा पाएको उनको खुसी अहिले दुःखमा परिणत भएको छ । ‘१८ महिनामा विजुली बल्छ भनेर गाँस काटेर पैसा बुझायौं’ उनी भन्छिन्, ‘२ वर्ष पुग्न लाग्दा पनि अलपत्र छ ।’ नेपाल सरकारको ९० प्रतिशत लगानी र स्थानीयको १० प्रतिशत लगानीमा बन्न लागेको विद्युतको काम ठेकेदारका कारण स्थानीय निराश बन्नु परेको हो । कुम्मायक गाउँपालिकाको विद्युतीकरणको काममा ठेकेदारको चरम लापरबाहीको शिकारमा स्थानीय परेका छन् । गाउँपालिकाको ४ वटा वडामा अहिले १५ करोडको लगानीमा विद्युतीकरणको काम हुँदै आएको छ । तर, गाउँपालिकाका दुई हजार घरधुरी अँध्यारोमा बस्न बाध्य छन् । विद्युत् सहकारीमार्फत् उनीहरुले १५ करोडको १० प्रतिशत रकम यसअगाडि नै बुझाइसकेका छन् । गाउँपालिकाको वडा नं. १ मा २०७३ साल वैशाखबाट ५ करोड ५२ लाखको लगानीमा वाइबा कन्स्ट्रसनले विद्युतीकरणको काम गर्दै आएको छ । स्थानीयले कुल रकमको १० प्रतिशत रकम बुझाइसकेका छन् । निर्माण कम्पनीले ५ सय धरधुरीलाई लक्षित गर्र्दै १८ महिनासम्ममा आयोजनाको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । सम्झौता गरेको समय सकिन लाग्दा ४५ प्रतिशत मात्रै काम गरेको भन्दै स्थानीय अक्रोसित भएका हुन् । उनीहरुले निर्माण कम्पनीले कम गेजको तार ल्याएर कमिसन खान खोजेको आरोपसमेत लगाएका छन् । प्राविधिक स्टिमेटअनुसार निर्माण कम्पनीले १ हजार ४४ वटा पोल र ३ वटा ट्रान्सफर्मर जडान गर्नुपर्ने हुन्छ । तर आयोजनाको काम हचुवाको भरमा सञ्चालन हुँदा स्थानीय चिन्तित छन् । सोही निर्माण कम्पनीले नै गाउँपालिकाको ३ र ४ नम्बर वडामा पनि विद्युत् विस्तारको काम सुस्त बनाएको छ । दुवै वडाका ९ सय घरधुरीलाई लक्षित गरी ५ करोड ५२ लाखको लगानीमा विद्युत् विस्तारको काम गर्र्दै आएको कम्पनीले पटक–पटक म्याद थप गरिसकेको छ । १५ महिनाको समयअवधिमा आयोजनाको काम सम्पन्न गर्नुपर्ने वाइबा निर्माण कम्पनीले थप गरेको ६ महिनामा पनि ३० प्रतिशत मात्रै काम सम्पन्न गरेको रानीगाउँ विद्युत् सहकारी संस्थाका अध्यक्ष तथा वडा नं. ४ का वडाअध्यक्ष पूर्णकुमार खड्काले बताए । निर्माण कम्पनीलाई चाँडो काम पूरा गर्न दबाव दिँदा सुनुवाइ नभएका कारण आफू पनि आजित भएको उनी बताउँछन् । यस्तै हालत छ । कुम्मायक गाउँपालिका वडा नं. ५ को पनि । स्थानीयले विद्युत् बाल्न प्रतिघरधुरी २६ सयका दरले १० प्रतिशत रकम जम्मा गरे तर अपेक्षा कृत काम नहुँदा वडाबासी पनि पीडामा छन् । वडाका ६ सय घरधुरीलाई लक्षित गर्र्दै आयोजनाको काम शुरु गरेको धुलीखेल निर्माण कम्पनी र त्रिपुरेश्वर निर्माण कम्पनी काठमाडौंले आलटाल गर्दा विद्युत् विस्तारको काम अलपत्र अवस्थामा छ । पहिलो र दोस्रो दुईवटा ठेक्का सम्झौता गरी काम शुरु गरेको निर्माण कम्पनीले २ वर्ष बित्न लाग्दासमेत आयोजनाको काम नै सुस्त बनाएको छ । पहिलो ठेक्का एक करोड ५६ लाखमा लिएको त्रिपुरेश्वर निर्माण कम्पनीले २ वर्ष बित्नलाग्दा ६५ प्रतिशत मात्रै काम सम्पन गरेको छ । उसले १८ महिनामा आयोजनाको काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो भने दोस्रो ठेक्का तीन करोड २८ लाखमा लिएको धुलीखेल निर्माण कम्पनीले एक वर्षपछि काम थालेको थियो । अहिले सो निर्माण कम्पनीले १७ प्रतिशत काम गरेको छ । तोकिएको समयमा निर्माण कम्पनीले काम सम्पन्न गर्न नसकेको अवस्थामा लापरबाही ढङ्गले काम गर्दै आएको भेटिएको छ । कम्पनीले ४० देखि ५० मिटर दूरीमा पोलिङ गर्नुपर्ने हुन्छ । तर त्यसको बेवास्ता गर्दै ६० देखि सय मिटरको दूरीमा पोलिङ गर्दै आएको छ ।