विराटनगर। विराटनगरको हस्पिटल चौकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिले थप उपचारका लागि रेफर गर्नुपर्ने बिरामीलाई जवर्जस्ती राखेर उपचारको बाहानामा पैसा असुल्ने गरेको खुलसा भएपछि जनस्वास्थ्य कार्यालय मोरङले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले संजिवनी हस्पिटलको आवश्यक अनुसन्धान गरि कारवाहीको प्रक्रिया अगाडी बढाउन जनस्वास्थ्यलाई पत्रचार गरेपछि मंगलबारदेखी अनुसन्धान सुरु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य निरीक्षक शंकर प्रसाद देवको नेतृत्वमा ल्याब टेक्निसियन राजु राउत र नासु रविन बरालले हस्पिटलको अनुसन्धान सुरु गरेका छन् । ‘जिप्रकाबाट अनुसन्धान गर्न पत्र प्राप्त भएपछि संजिवनी हस्पिटलको अनुसन्धान सुरु गरेका छौं,’ जनस्वास्थ्य निरीक्षक देवले भने, ‘अहिले अनुसन्धान गर्ने क्रममा छौं । अनुसन्धानपछि दोषि देखिए कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउनेछौ,’ उनले भने ।
हस्पिटलका नयाँ आएका व्यवस्थापकहरुले आम्दानीको लोभमा बिरामी अन्यत्र रेफर नगराई अस्पतालमै उपचार गर्न डाक्टरलाई बाध्य पार्ने रहस्य ब्लाष्टले असार २६ गते सार्वजानिक गरेको थियो ।
यो घटना सार्वजानिक भए लगतै सोही दिन उपभोक्ताबादी संस्था पब्लिक फोरम नेपालले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने हस्पिटललाई तत्काल छानबिन गरि आवश्यक कारवाही गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका थिए ।
त्यही उजुरीको आदरमा अनुसन्धान गरि कानून बमोजिम कारबाही गर्न जनस्वास्थ्य कार्यालयलाई जिप्रका मोरङले असार २७ गते पत्र काटेको थियो । तर, जिप्रकाले पहिलो पटक पु¥याएको पत्र जनस्वास्थ्य कार्यालयबाटै हराएपछि पुनः दोस्रो पटक पत्र जिप्रका मोरङले पठाएको थियो ।
विराटनगरको अस्पतालचौकमा रहेको उक्त हस्पिटलले बिरामीलाई रेफर गरेको भन्दै मेडिकल अफिसियर डाक्टर आलोक रायलाई ५० हजार जरिमाना गरेको र जागिरबाट हटाएको अवकाश दिएको घटना सार्वजनिक भएको थियो ।
डाक्टरले उपचार गराउन नसक्ने र विपी प्रतिष्ठान धरान लानुपर्ने बताएको भएपनि जबर्जस्ती उपचार गराउन हस्पिटलले दबाब दिएको थियो ।
अस्पतालमा भर्ना गरिएकी रुरु माया मुगनलाई नोबेल अस्पतालले विपी प्रतिष्ठान धरान उपचारका लागि लैजान रेफर गरेको थियो । तर कमिसनको लोभमा परी एम्बुलेन्स चालकले बिरामीलाई संजीवनी हस्पिटल पुर्याएको थियो ।