विराटनगर । बिरामीलाई रेफर गरेको बहानामा डाक्टरलाई निकाल्ने सञ्जीवनी हस्पिटल एण्ड आइभीएफ सेन्टर प्रालिमाथि जनस्वास्थ्य कार्यालय मोरङले अनुसन्धान थालेको छ । विराटनगरको हस्पिटलचोकस्थित प्रालिमाथि बुधबारबाट जनस्वास्थ्यले अनुसन्धान थालेको हो । बिरामीलाई रेफर गरेको बहानामा दुई साताअघि डाक्टर आलोक रायलाई निकालेको थियो । उपचारको बहानामा बिरामीबाट रकम असुल्ने गरेको खुलासा भएपछि जनस्वास्थ्यले अनुसन्धानलाई तीव्रता दिएको हो । जिप्रका मोरङले आवश्यक अनुसन्धानका लागि सञ्जीवनीलाई कारबाही प्रक्रिया अघि बढाउन जनस्वास्थ्यलाई पत्राचार गरेपछि मङ्गलबारदेखि अनुसन्धान थालेको निमित्त जनस्वास्थ्य प्रमुख रामनन्दन यादवले जानकारी दिए  । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य निरीक्षक शङ्करप्रसाद देवको नेतृत्वमा ल्याव टेक्निसियन राजु राउत र नासु रविन बरालले हस्पिटलको अनुसन्धान शुरु गरेका छन् । ‘जिप्रकाबाट अनुसन्धान गर्न पत्र प्राप्त भएपछि सञ्जीवनी हस्पिटलको अनुसन्धान शुरु गरेका छौं’ जनस्वास्थ्य निरीक्षक देवले भने, ‘अहिले अनुसन्धान  गर्ने क्रममा छौं । अनुसन्धानपछि दोषी देखिए कानूनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाउनेछौं ।’ हस्पिटलका नयाँ आएका व्यवस्थापकहरुले आम्दानीको लोभमा बिरामी अन्यत्र रेफर नगराई अस्पतालमै उपचार गर्न डाक्टरलाई बाध्य पार्ने रहस्य असार २६ गते ब्लाष्टले सार्वजनिक गरेको थियो । यो घटना सार्वजनिक भएलगत्तै सोही दिन उपभोक्तावादी संस्था पब्लिक फोरम नेपालले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने हस्पिटललाई तत्काल छानविन गरी आवश्यक कारबाही गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएको थियो । त्यही उजुरीको आधारमा अनुसन्धान गरिरहेको हो । जनस्वास्थ्यलाई जिप्रका मोरङले असार २७ गते पत्र काटेको थियो । तर, जिप्रकाले पहिलो पटक पु¥याएको पत्र जनस्वास्थ्य कार्यालयबाटै एकाएक गायब भएपछि पुनः दोस्रोपटक पत्र पठाएको थियो । हस्पिटलले बिरामीलाई रेफर गरेको भन्दै मेडिकल अफिसर डाक्टर आलोक रायलाई ५० हजार जरिवाना गरेको र जागिरबाट अवकाश दिएको घटना सार्वजनिक भएको थियो । डाक्टरले उपचार गराउन नसक्ने र बीपी प्रतिष्ठान धरान लानुपर्ने बताएको भए पनि जबर्जस्ती उपचार गराउन हस्पिटलले दबाव दिएको थियो । अस्पतालमा भर्ना गरिएकी रुरुमाया मुगनलाई नोबेल अस्पतालले बीपी प्रतिष्ठान धरान उपचारका लागि लैजान रेफर गरेको थियो । तर कमिसनको लोभमा परी एम्बुलेन्स चालकले बिरामीलाई सञ्जीवनी हस्पिटल पु¥याएको थियो । तर, एम्बुलेन्सलाई भने अहिलेसम्म कारबाहीको लागि सिफारिस गरिएको छैन ।