सिम्सुवा, धनकुटा । भेडेटारको सिम्सुवादेखि बूढीमोरङहुँदै खुवाफोक जोड्न लेउती खोलाको सिम्सुवा गोलाइमा पक्की पुलको निर्माण कार्य ढिलाइ भैरहेको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । पक्की पुल निर्माण अवधि १ वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीको ढिलासुस्तीको कारण हालसम्म पुलको एउटा पनि पिलर बनिनसकेको स्थानीय उपभोक्ताहरुको गुनासो छ  । कुन्सालिङ, बिरुवा र सारा सृष्टि निर्माण कम्पनी जेभीले २ वर्षको अवधिमा पुलको निर्माण कार्य सक्ने गरी ०७४ असार २५ गते डिभिजन सडक कार्यालय धनकुटामा सम्झौता गरेको बताइएको छ । सम्झौता गरेको १ वर्ष बितिसक्दा पनि पुल निर्माण कार्यमा प्रगति नदेखिएको भन्दै स्थानीयले गुनासो गरेका हुन् । तीनवटा पिलर सहित ८२.७३ मिटर लामो पुलको निर्माण कार्य सक्नुपर्ने अन्तिम समयावधि ०७६ असार २४ गते रहेको डिभिजन सडक कार्यालय धनकुटाका इञ्जिनियर विकेस लागेले बताएका छन् । उनले पुलको रिडिजाइन गर्नु परेकाले काम ढिलाइ हुन गएको स्वीकारेका छन् । अब निर्माण अवधि ११ महिना मात्र बाँकी रहेकोले तोकिएकै समयमा पुल निर्माण कार्य सकिएला त ? भन्ने ब्लाष्टको जिज्ञासामा इञ्जिनियर विकेस लागेले भने सक्नै पर्छ । ‘पुल निर्माण कार्य सकिएन भने निर्माण कम्पनीलाई हर्जाना लाग्न सक्छ’– लागेले भने । ‘सिम्सुवा गोलाइको लेउती खोलामा चाँडो पुल बनोस् भन्ने हामी वडाबासीको चाहना छ, तर काम कछुवाको गतिमा भैराखेको देख्दा निराशा छाएको छ’ –साँगुरगढी–२ का वडाध्यक्ष दलबहादुर इङ्नामले भने । उनले चाँडै लेउती खोलामा पक्की पुल निर्माण कार्य सकिए फाक्सिव, बूढीमोरङ, खुवाफोकलगायत चौबीसे भेगका बोधे, कुरुलेतेनुपालगायतका स्थानीय बासिन्दालाई सुविधा हुने बताए । बूढीमोरङका छत्रबहादुर लिम्बूले सिम्सुवादेखि तेम्वाङडाँडा हुँदै बूढीमोरङसम्म पुग्ने सबैभन्दा छोटो दूरीको सडकमा पर्ने सोे पुल चाँडै बनेमा स्थानीयले सुविधा पाउने बताए । त्यस्तै साँगुरीगढी–४ फाक्सिवका चन्द्रसिंह नेम्वाङले लेउती खोलामा गाडी चल्ने पुल बने स्थानीयलाई राहत हुने बताए । पुलको कुल लागत भ्याटबाहेक ६ करोड ५६ लाख ७९ हजार २ सय रुपैयाँ ३४ पैसा रहेको डिभिजन सडक कार्यालय धनकुटाका इञ्जिनियर अनुप साउदेनले बताए । यता कुन्सालिङ निर्माण कम्पनीका प्रोप्राइटर मिङ्मा शेर्पाले भने पुल निर्माणका लागि ०७४ असार २५ गते डिभिजन सडक कार्यालय धनकुटामा सम्झौता गरे पनि पुलको डिजाइन फेल भएको कारण ०७४ फागुन २२ गतेबाट मात्र निर्माण कार्य थालेको बताए । उनले डिजाइन फेल हुँदा २ वर्षे योजनामा ५ महिना अवधि त्यसै खेर गएको बताए । शेर्पाले हालसम्म २ वटा पिलरको जग हाल्ने कार्य भैरहेको बताएका छन् । उनले पुल निर्माण कार्य तोकिएकै अवधिमा सकिनेमा आफूहरु ढुक्क रहेको बताए । पूर्व सांसद् टीकाराम चेम्जोङले आफू सांसद् हुँदा निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा पहिलो पटक सिम्सुवा, फाक्सिव, बूढीमोरङ, खुवाफोक चौबीसे मध्यपहाडी लोकमार्गको १२ किलोमिटर ट्रयाक खोलेको बताए । चेम्जोङले आ.व.०७२÷०७३ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५ करोड सहयोगमा भेडेटारको सिम्सुवादेखि बूढीमोरङको तेम्वाङसम्मको साढे ९ किलोमिटर नयाँ सडक विस्तार गरी बूढीमोरङ जाने सडकसँग जोडेको बताए । ‘बन्न लागेको पक्की पुल चाँडै बने चौबीसेभेगका लाखौं जनताले राहत पाउने थिए’ चेम्जोङले भने, ‘पुल निर्माणमा ढिलाइ हुँदा उपभोक्ताले नयाँ र छोटो दूरीको बाटो उपयोग गर्न पाएका छैनन् ।’ चाँडोभन्दा चाँडो पुलको निर्माण कार्य सम्पन्न गर्न गराउन सरोकारवाला सबैले चासो दिनुपर्नेमा पूर्व सांसद् चेम्जोङले जोड दिएका छन् ।