राजविराज । सप्तरीको खडक नगरपालिका–९ लालपट्टीमा आफ्नै बहिनीलाई बलात्कार गरी हत्या गरेको घटना सेलाउन नपाउँदै पुनः त्यस्तै प्रकृतिको घटना जिल्लाको कञ्चनरूप नगरपालिकामा भएको छ । खडक नगरपालिकामा दाजुले आफ्नै १२ वर्षीया बहिनीको बलात्कार गरी हत्या गरेको घटना सेलाउन नपाउँदै कञ्चनरूप नगरपालिकामा काकाले ७ वर्षीया भतिजीलाई एक महिनादेखि बलात्कार गरिरहेको खुलेको हो । पटक–पटकको बलात्कारपछि सिकिस्त बिरामी परेकी पीडित बालिकालाई अस्पताल भर्ना गराइएपछि बलात्कार भएको खुलेको छ । कञ्चनरूप नगरपालिका–८ की पीडित बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार र स्वास्थ्य परीक्षण गराई शुक्रबार घर ल्याइएको छ । पीडित बालिकाको बयान र आमाबुबाले छोरीलाई रेखदेख गर्न जिम्मा दिएका आफ्नै काका २५ वर्षीय गजेन्द्र साह सोनारले जबरजस्ती करणी गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी निरीक्षक प्रतीक विष्टले बताए । प्राप्त घटना विवरणअनुसार आमाबुबा दिनभर व्यापार व्यवसायको सिलसिलामा कञ्चनरूपस्थित हाटबजारमा जाने गर्थे । यो उनीहरुको दैनिकी थियो । यसरी दिनभर बजार रहँदा ७ वर्षीया छोरी घरमा एक्लै रहने भएकाले सुरक्षा र संरक्षणका लागि बुबा साहले आफ्नै सहोदर भाइ गजेन्द्रलाई रेखदेख गर्न जिम्मेवारी दिएका थिए । सहोदर भाइ भएकाले आफ्नो अनुपस्थितिमा छोरीको सुरक्षा हुने उनको विश्वास थियो । तर विश्वासघात भयो । विगत एक महिनादेखि काका गजेन्द्रले कहिले चकलेट, विष्कुट त कहिले डर, त्रास देखाएर कुकृत्य गर्ने गरेको बालिकाले बताएपछि आमाबुबाको होस हवास उड्यो । पछिल्लो पटक मङ्गलबार पनि काका गजेन्द्रले मुख थुनेर जबरजस्ती करणी गरेको बालिका साहले आफ्नी आमालाई सुनाएकी थिइन् । डरले विगत एक महिनादेखि सहेर बसे पनि निरन्तरको पीडा सहन नसकेपछि पछिल्लो घटना भने उनले आमालाई सुनाएकी हुन् । पीडितको उजुरीको आधारमा पीडक विरुद्ध जबरजस्ती हाडनाता करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक विष्टले बताए । घटना सार्वजनिक भएलगत्तै फरार भएका पीडक गजेन्द्रको खोजी कार्य तीब्र बनाइएको उनले बताए । गत २५ माघमा पनि जिल्लाको खडक नगरपालिका–९ लालपट्टी घर भएकी ११ वर्षीया पावर्ती मण्डललाई उनकै काकाका छोरा १९ वर्षीय राजदेव मण्डलले बलात्कारपछि हत्या गरेका थिए । मण्डल हाल राजविराज कारागारमा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १ वर्षको अवधिमा जबरजस्ती करणीका २२ वटा मुद्दा दर्ता भएका छन् । जसमा २० आरोपी पक्राउ परेका छन् भने ११ जना फरार छन् । यस्तै बलात्कारका ८ घटनामा आफन्तकै संलग्नता देखिएको छ भने बाँकी छिमेकी र चिनजानको व्यक्ति तथा न्यून घटनामा अपरिचित व्यक्तिको संलग्नता देखिएको छ । बलात्कार हुनेमा ६ देखि १६ वर्ष उमेर समूहका बालिका बढी छन् । जिल्ला प्रहरी कार्यालयले बढ्दो बलात्कार घटनालाई मध्यनजर गर्दै सामुदायिक चेतना अभियान पनि सञ्चालन गरेको छ । जसकारण बलात्कारका घटना केही न्यूनीकरण भए पनि पूर्ण नियन्त्रण भने हुन सकेको छैन । प्रहरी उपरीक्षक मुकेश सिंहले यस्ता घटना रोक्न सुरक्षा व्यवस्था चुस्त र प्रहरी परिचालन व्यापक बनाइएको बताए । उनले भने–‘यसले मात्र समस्या समाधान सहज देखिँदैन, सामाजिक विकृतिका रूपमा रहेका यस्ता समस्याप्रति जनस्तरबाटै गम्भीर चिन्ता र चासो जरुरी छ । सबै पक्षको सहयोगको उत्तिकै खाँचो छ ।’