धरान । धरान–१६ का एक युवाले आफूमाथि एक जनप्रतिनिधिसहित तीन युवाले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । धरान–१६ का दीपेश थपलियाले इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार उजुरी दिएका हुन् ।

उनले आफूमाथि धरान–१६ का जनप्रतिनिधि दीपक आचार्यसहित गोकुल राई र मनोज विष्टले आक्रमण गरेको भन्दै उजुरी दिएका हुन् । एक वैवाहिक समारोहमा हातपात भएको थियो । आचार्य वडासदस्य हुन् । इप्रका धरानका डिएसपी रामेश्वर पौडेलले हातपातको उजुरी आएको बताए । ‘दर्ता भइसकेको छ । युवाहरूको खोजी कार्य भइरहेको छ’ –उनले फोन सम्पर्कमा भने । उनले शान्तिसुरक्षा र कारबाहीको माग गर्दै उजुरी दिएको डिएसपी पौडेलले बताए । यस विषयमा बुझ्नका लागि जनप्रतिनिधि आचार्यलाई मोबाइलमा सम्पर्क गर्न खोज्दा फोन स्विचअफ रहेको पाइयो । प्रत्यक्षदर्शीका अनुसार आचार्यलगायतका युवाहरू विहेघर बाहिर आएर व्यवसायिक विषयमा छलफल गरिरहेको समयमा थपलियाले विवादका क्रममा डिलमा बसिरहेका आचार्य डिलमुनी खसेका थिए । आचार्यका साथीहरूले थपलियाले हातपात गरेको भन्ठानेर थपलियामाथि जाइलागेको प्रत्यक्षदर्शी बताउँछन् । ‘त्यहाँ आचार्यको गल्ती थिएन’ –प्रत्यक्षदर्शीले भने । प्रहरीले उनीहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।